फाइल तस्वीर
धनगढी, वैशाख ४ गते — सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको लागि पुनः दाबी पेस गर्न पुनः आह्वान गरिएको छ । प्रदेश प्रमुखले आज मङ्गलबार वैशाख ६ गते बिहीबार भित्र पुनः दावी पेश गर्न प्रदेशसभामा रहेका दलहरुलाई आह्वान गर्नुभएको हो ।

यसअघि एउटै पार्टी (नागरिक उन्मुक्ति पार्टी) बाट दुई जनाले मुख्यमन्त्रीमा दावी गरिएकाले सो दावीलाई अस्वीकृत गर्दै प्रदेश प्रमुखले वैशाख ६ गतेभित्र पुनः दावी पेस गर्ने समय सीमा तोकेर मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुखले यसअघि चैत २३ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी गर्न वैशाख २ गते सम्मको समय दिनुभएको थियो ।

त्यस क्रममा नागरिक उन्मुक्ति पार्टीका दुईजना प्रदेश सभा सदस्यले दावी पेस गरे पनि दुवै दावीको आधारमा निष्कर्षमा पुग्न नसकिएको हुँदा पुनः आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचना अनुसार, प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नै दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई स्पष्ट दावीसहित वैशाख ६ गते बेलुका ५:०० बजेभित्र पेस गर्न आह्वान गनुभएको छ ।

केन्द्रीय सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका तर्फबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दावी गर्न नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवाद, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदबीच आज सहमति भएको छ । भोलिसम्ममा एकीकृत समाजवादीले मुख्यमन्त्रीमा दावी प्रस्तुत गर्ने बताइएको छ ।