फाइल तस्वीर
धनगढी, वैशाख ४ गते — सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिमा प्रदेश प्रमुख नाजिर मियाद्वारा तोकिएको समयसीमा वैशाख २ गते सकिए पनि उक्त प्रदेशमा मुख्यमन्त्री नियुक्त हुन सकेको छैन । मुख्यमन्त्रीका लागि आज मङ्गलबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई सांसदले दावी पेस गरेपछि थप अन्योलता बढेको छ ।

यतिबेला त्यहाँ राजनीतिक दलहरु प्रदेश प्रमुखको निर्णय के आउँछ भनेर पर्खिबसेको अवस्था छ । मुख्यमन्त्रीमा एकै दलका दुई सांसद्ले दावी प्रस्तुत गरेसँगै आजका लागि तोकिएको समयसीमा पनि घर्किने अवस्था देखिएको छ ।

सुदूरपश्चिम प्रदेको मुख्यमन्त्रीमा रेशम चौधरी पक्षधरका नाउपाका सांसद लक्ष्मणकिशोर चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरीले दावी गरेपछि प्रदेश प्रमुख मियाँले आज मङ्गलबारसम्मको समय माग गर्नुभएको थियो ।

मुख्यमन्त्रीमा आफ्नो दावी गर्दै आएको नेकपा एकीकृत समाजवादीले केन्द्रीय सत्ता गठबन्धनको निर्णय विपरीत लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेको र नाउपाबाटै अर्का सांसद कैलाश चौधरीले समेत दावी पेस गरेपछि त्यहाँ मुख्यमन्त्री नियुक्तिको विषय निकै रोचक र पेचिलो बन्न पुगेको छ । नाउपाका यी दुवै समूहबीचका कारण राजनीतिक दलहरू प्रदेश प्रमुखको निर्णय कुरेर बसिरहेको अवस्था छ ।

यसैबीच एकीकृत समाजवादीले प्रदेश प्रमुखको निर्णयलाई कुरी बसेको छ । मुख्यमन्त्रीमा एउटै पाटीका दुर्ई जनाको दावी परेकाले प्रदेश प्रमुखले यसलाई रद्द गरी पुनः सरकारक गठनका लागि आह्वान गर्ने अवस्था पनि देखिको छ । यदि त्यसो भएमा अब मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीले दावी गर्न सक्ने बलियो सम्भावना रहेको छ । एकीकृत समाजवादी यतिखेर प्रदेश प्रमुखको निर्णयको पर्खाइमा बसेको छ ।

यदि प्रदेश प्रमुखले दुवैको दावीलाई रद्द गरी सरकार बनाउन छोटो समय दिएर पुनः आह्वान गर्नुभएको खण्डमा मुख्यमन्त्रीमा एकीकृत समाजवादीले दावी गर्ने निश्चित जस्तै देखिएको छ ।

यस्तो अवस्थामा एकीकृत समाजवादीलाई केन्द्रीय गठबन्धनका दलहरुको समेत समर्र्थन प्राप्त गर्न सजिलो हुनेछ । मुख्यमन्त्रीमा एकीकृत समाजवादीलाई सघाउन नेपाली काङ्ग्रेस र नाउपालाई नैतिक दवाव पर्र्न जानेछ ।

हिजो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने पूर्ववत सहमति कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपीशर्मा ओलीको व्यवहारले गठबन्धनमाा दरार आएको बताउनुभएको थियो ।

यसैबीच आज बिहानमात्रै सो पार्टीका सम्मानित नेता झलनाथ खनालले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग लामो छलफल गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीको दावीलाई दोहोर्याउँदै समर्र्थन गर्न आग्रह गर्नुभएको थियो । गठबन्धनकै दल नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएको बताइको छ ।

प्रदेश प्रमुख मियाले दुवै पक्षको दावीलाई खारेज गर्दै मुख्यमन्त्रीका लागि पुनः आह्वान गर्नुभएको खण्डमा एकीकृत समाजवादीले दावी पेश गर्ने र त्यसमा एमाले र माओवादी केन्द्रको समेत सहमति हुनसक्ने सङ्केत देखिएको छ । यसो हुन सकेको अवस्थामा केन्द्रीय सत्ता समीकरण बलियो हुन जाने छ । केन्द्रीय सत्ता समीकरण फेरबदल हुँदा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग गरिएको सहमति पनि कार्यान्वयन हुने स्रोतको भनाइ छ ।