नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ।
काठमाडौँ, वैशाख ३ गतेः सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका मुख्य दुई ठूला दल नेकपा (एमाले) र नेकपा(माओवादी) केन्द्रका अध्यक्षद्वयले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको बताउनुभएको छ । आज सोमबार आलोकनगरस्थित पार्टी मुख्यालयमा उपलब्ध सचिवालय सदस्यहरूसँगको छलफलका क्रममा अध्यक्ष नेपालले प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुहरुसँग भएको सहमति कार्यान्वन नगरेको उल्लेख गर्नुभएको हो ।

नेपा नेपालले सुदूरपश्चिम प्रदेश प्रकरणमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले सहमति पालना नगर्दाको परिणाम भएको भन्दै सचिवालय बैठकलाई जानकारी गराउँदै अध्यक्ष नेपालले आफ्नो पार्टी अहिलेको समीकरण भत्काउनतर्फ नलाग्ने तर हेपिएर र पेलिएर पनि बस्न पनि नसक्ने जिकिर गर्नुभएको थियो ।

प्रचार विभाग प्रमुख एवम् पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले बताउनुभए अनुसार पार्टी अध्यक्ष नेपालले ‘प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले हामीसँग गरेको सम्झौता पालना भएन । केन्द्र र प्रदेश सरकार सञ्चालनमा उहाँहरू एकलौटी ढङ्गले अघि बढ्न खोजेको देखियो’ भन्नुभएको थियो । बैठकमा अध्यक्ष नेपालले ‘यो सरकार ढाल्न इशारा नै काफी छ । तर अहिले नै हामी त्यसतर्फ लाग्दैनौ’— भन्नुभएको उपमहासचिव खतिवडाले जानकारी दिनुभयो ।

अध्यक्ष नेपालले बैठकमा यसअघिको प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली दुवैको आग्रहमा आफूहरूले अघिल्लो गठबन्धन तोडेर वर्तमान सत्ता गठबन्धनमा जोडिएको स्मरण गराउनुभएको थियो ।

‘वामपन्थीको नेतृत्वमै रहेको गठबन्धन भएकाले सहभागी हुनुपर्छ भन्ने मान्यताअनुसार हामी सहभागी भएका हौं भन्नुहुँदै अध्यक्ष नेपालले आजको सचिवालय बैठकमा आफुहरु परिवर्तित गठबन्धनमा संलग्न हुनुअघि प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीले जे कुरा गर्नुभएको थियो र जे सहमतिहरू भएका थिए, ती सहमति कार्यान्वयन गर्ने र पालना गर्ने कुरामा एकपछि अर्को छोड्दै जाँदा सुदूरपश्चिम प्रदेशमा समस्या पैदा हुन पुगेको दावी गर्नुभएको थियो ।

सत्ताको नयाँ गठबन्धन बन्दा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री एकीकृत समाजवादीलाई नै दिने सहमति भएपनि उक्त सहमति कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीप्रति रोश प्रकट गर्दै सत्ता समीकरणबाट एकीकृत समाजवादी कुनैपनि बेला बाहिरिन सक्ने सङ्केत गर्नुभएको छ ।

अध्यक्ष नेपालले आफूहरू सत्ता गठबन्धनमा सहभागी हुँदा मुलुकको भविष्य र कम्युनिस्ट आन्दोलनलाई सहयोग पुग्ने बुझेर सहयात्री बनेपनि विगतको कोर्ष करेक्सनतर्फ प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली नलागेको टिप्पणी गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा उपाध्यक्ष, उपचुनाव, राष्ट्रियसभा सदस्यमा मनोनीतका साथै मुख्यमन्त्रीका सवालमा समेत कोर्ष करेक्सनतर्फ दुई नेता टिप्पणी गर्नुभएको थियो ।

‘श्रृङ्खलाबद्ध रूपमा सहमति पालना भइरहेका छैनन्, जस्ले गर्दा दरार उत्पन्न भएको छ’ भन्दै अध्यक्ष नेपालले गठबन्धन टिकाउनुपर्ने र बिग्रेको कोर्ष करेक्सनतर्फ नै लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

बैठकमा अन्य नेताहरुको प्रश्नको जवाफ दिंदै अध्यक्ष नेपालले अहिले आफूहरूलाई भड्काउने र उत्तेजित गरेर फेरि अर्को समीकरण बनाएर फाइदा उठाउनेतर्फ सचेत रहनुपर्ने उल्लेख गर्नुभएको थियो ।