प्रतिकात्मक तस्वीर
दाङ, २ वैशाख ः माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।
आन्द्राभरैयाका चार बालक घरदेखि करिब पाँच सय मिटर टाढा रहेको कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरु माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाइ छ । आज दिउँसो खेल्न गएकामध्येबाट तीन खाल्डोमा परेपछि एकजना बालकको उद्धार गरिए पनि अन्य दुईजना गहिरो खाल्डोमा गएर पुरिएका थिए ।
पुरिएकालाई गाउँलेले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारका लागि लगिएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो । उनीहरुको शव अहिले शवपरीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । खाल्डो किन खनिएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।