फाइल तस्वीरः प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ।
काठमाडौँ — प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले निष्पक्ष न्यायपालिकाको संस्थागत विकासमा जोड दिनुभएको छ ।

नववर्ष २०८१ का अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाबाट भएका सुधारका प्रयासलाई सार्थक र परिणाममुखी बनाएर यसलाई सक्षम, सुदृढ र भरोसायोग्य न्यायप्रणालीका रूपकम स्थापना गर्न नयाँ वर्षमा सबैलाई सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।

प्रधानन्यायाशधीले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको आपसी सद्भाव र सहिष्णुता कायम राख्दै सामाजिक ऐक्यबद्धता प्रवद्र्धन गर्न नयाँ वर्षको विशेष दिनले सबैमा थप ऊर्जा, हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ, “नेपालको संविधानले आत्मसात् गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्दै मुलुकमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको सुनिश्चितता गर्न विक्रम संवत् २०८१ मा विशेष योगदान पुग्न सकोस् भन्ने कामना गर्दछु ।”