ताप्लेजुङ — मध्य तमोर जलविद्युत आयोजनाको बिजुली कोशी करिडोरमा जोडिएको छ । ७३ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको हो ।

सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले अबका १५ दिन परीक्षण उत्पादन र त्यसपछि व्यावसायिक उत्पादन गर्ने जनाएको छ । आयोजनाका प्रबन्धक मणिराज पोखरेलका अनुसार आयोजनाका चारवटा टर्बाइनमध्ये एउटाबाट उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुरस्थित कोशी करिडोरको प्रसारण लाइनमा जोडिएको हो ।

अब केही दिनमै पूर्णरुपले मध्य तमोर जलविद्युत् आयोजनाद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने प्रबन्धक पोखरेलले बताउनुभयो ।

प्रबन्ध निर्देशक कुलमान घिसिङले यो सँगै देशमा विद्युत् जडित क्षमता तीन हजार तीन सय मेगावाट पुगेको बताउँदै यसले विद्युत् आपूर्तिमा ठूलो राहत पुग्ने बताउनुभयो । देशको अर्थतन्त्रको मेरुदण्ड भनेकै जलविद्युत् हो भन्दै उहाँले विद्युत् आयोजनामा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

आयोजनाबाट सुक्खा याममा २५ देखि ३० मेगावाटसम्म विद्युत् उत्पादन हुने बताइएको छ । फुङलिङ नगरपालिकास्थित फुरुम्बूको मित्लुङ नजिक ५० मिटर लामो र ११ अग्लो बाँध निर्माण गरी तीन हजार चार सय मिटर लामो सुरुङबाट खोक्लिङको थुम्बाबेँसीमा निर्मित विद्युतगृहमा जल प्रवाह गरेर बिजुली निकालिएको हो ।