फाइल तस्वीर: मुख्यमन्त्री जोखबहादुर महरा ।


लुम्बिनी — लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महराले संविधानको धारा १८८ को उपधारा (१) बमोजिम राख्नुभएको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा मुख्यमन्त्री महराको पक्षमा ४८ मत परेपछि विश्वासको मत प्राप्त भएको हो ।

मुख्यमन्त्री महराले मुख्यमन्त्री नियुक्त भएको एक सातामै प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्नुभएको छ । कुल ८७ प्रदेशसभा सदस्य रहेको लुम्बिनी प्रदेशको आज शुक्रबार बसेको बैठकमा उपस्थित प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्री महराका पक्षमा सत्तागठबन्धन दल नेकपा एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, जनता समाजवादी पार्टीका तीन, नागरिक उन्मुक्ति पार्टीका चार, नेकपा एसका एक र स्वतन्त्र एक जना सदस्यसहित ४८ मत प्राप्त गर्नुभएकाले प्रदेशसभाका सभामुख तुलाराम घर्तीले घोषणा गर्नुभएको थियो । सदस्यीय प्रदेशसभामा प्रस्तावको विपक्षमा नेपाली काङ्ग्रेसका २६ र जनमत पार्टीका दुई जना गरी २८ मत परेको थियो ।

यसअघि बैठकमा विश्वासको प्रस्ताव राख्नुहुँदै मुख्यमन्त्री महराले सबैको अपनत्व हुनेगरी काम गर्ने भन्दै विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । उहाँले आफ्नो नेतृत्वको सरकारले वार्षिक तालिका (क्यालेण्डर) बनाएर विकासका योजना तर्जुमा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

बैठकलाई सम्बोधन गर्नुहुँदै प्रमुख विपक्षी दलका नेपाली काङ्ग्रेसका नेता तथा निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्रीय नेतृत्वका कारण सङ्घीयता कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले सङ्घीयता कार्यान्वयन गरेर प्रदेश संरचनालाई बलियो बनाउने कार्यमा आफ्नो दलको समर्थन रहेने सङ्केत स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री महरा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी दलको समर्थनमा चैत २३ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।