काठमाडौँ — राष्ट्रियसभाका सदस्यहरुले समसामायिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकको शून्य समयमा सांसदहरुले भ्रष्टाचारको आरोपीलाई अनुसन्धानको दायरामा ल्याउन, सडक निर्माणलाई तीव्रता दिन, वर्षायाममा प्राकृतिक विपत्तिको तयारी र किसानलाई मलको उपलब्धता गराउन माग गर्नुभएको हो ।

सांसद जितजङ्ग बस्नेतले भ्रष्टाचारको आरोपितलाई अनुसन्धानको घेरामा ल्याउन आग्रह गर्नुभयो । सांसद पदमबहादुर परियारले पृथ्वीराजमार्ग पूर्वी खण्डको मुग्लिनबाट पोखरासम्मको सडक निर्माणलाई सावधानीपूर्वक तीव्रता दिन माग गर्नुभयो । उहाँले सडक निर्माणका क्रममा बस्तीमा पर्न गएको असरप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद पूजा चौधरीले वर्षायाममा रौतहटसहित तराइका कतिपय जिल्लाका बस्ती डुबानका कारण जोखिममा रहेकाप्रति ध्यानार्कषण गराउनुभयो । उहाँले नेपाल–भारत बैरगनियाको सिमाको ड्यामलाई वर्खायाममा खोल्ने भारतसँगको मौखिक सम्झौतालाई कार्यान्वयन गर्न कूटनीतिक पहल गर्नुपर्ने माग गर्नुभयो । 

सांसद बलदेव बोहराले वर्षात्को समयमा किसानलाई सरकारले प्रयाप्त मल उपलब्ध गराउन माग गर्नुभयो । सांसद रुक्मणी कोइरालाले लैङ्गिक बजेट ल्याउने र कार्यान्वयन गर्नतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले एक गाउँ एक उत्पादनको कार्यान्वयका लागिसमेत जोड दिनुभयो ।

सांसद रेणु चन्दले सुदूरपश्चिममा आङ्गिक क्याम्पसका लागि अभिलम्ब प्रयाप्त बजेट व्यवस्थापन गर्न माग गर्नुभयो । सांसद विष्णुकुमारी सापकोटाले देशभर डढेलो नियन्त्रणका लागि ध्यानाकर्षण गराउनुभयो । सांसद विष्णुबहादुर विश्वकर्माले सङ्कटग्रस्त पालिकामा राहतको कार्यक्रम पु¥याउन ध्यानाकर्षण गराउनुभयो । 

संसदको शून्य समयमा सांसद श्रीकृष्णप्रसाद अधिकारीले सुकुम्बासी, सडक निर्माण र सडक व्यापारीको समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मनरुपा शर्माले पर्वत जिल्लाको जलजला गाँउपालिकाका सूर्यबहादुर घर्ती र गमला धर्ती क्षेत्रीको हत्याले जिल्लावासी आक्रन्त बनेको भन्दै उक्त घटनाबारे तत्काल अनुसन्धान प्रक्रिया अघि बढाएर हत्यारा पत्ता लगाउन माग गर्नुभयो ।