काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जनचेतनाका कार्यक्रम स्थानीय तहसम्म लैजान नसकिएको बताउनुभएको छ । विश्व स्वास्थ्य दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सचिव डा पोखरेलले भन्नुभयो, “हामीले गरिरहेका स्वास्थ्य कार्यक्रमबारे जनतालाई जानकारी गराउन सकेका छैनौँ । आधारभूत सेवाबारे जनतालाई जानकारी गराउने अबको लक्ष्य छ ।”

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा राजेश सामभाजीराव पाण्डवले सुरुमै स्वास्थ्यप्रति सचेत रही जीवनशैली अपनाउनसके भविष्यमा स्वस्थ भइने बताउनुभयो । नेपालले स्वास्थ्य सेवा मौलिक अधिकारका रुपमा राखे पनि सोअनुसार काम हुन नसकेको उहाँले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा सङ्गीता कौशल मिश्राले स्वास्थ्य सेवामा समतामूलक पहुँच कसरी बढाउने भन्ने नीतिअनुरुसार काम गर्नुपर्ने बताउनुभयो । नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले निःशुल्क आधारभूत स्वास्थ्य सेवा सबैलाई दिन नसकिएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “आधारभूत अस्पताल निर्माण सोचेअनुसार विस्तार हुन सकेको छैन । गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचमा नेपालको कभरेज ५४ प्रतिशत छ, जुन ८० प्रतिशत पुग्नुपर्ने हो ।” उहाँले स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन, नसर्ने रोग, मानसिक रोगलगायतका विषयमा काम गर्नुपर्ने बताउनुभयो ।