चितवन — उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार सेवा दिन नसकिएको बताउनुभएको छ । भरतपुर अस्पतालको आज निरीक्षण अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै स्वास्थ्यमन्त्री यादवले अहिले प्रवाह भएका सेवा कम भएको बताउनुभएको हो । उहाँले भन्नुभयो “जनताले अपेक्षा गरेको आवश्यकताअनुसार सबै पूरा गर्न नसकिरहेको अवस्था छ ।”

स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन, भौतिक संरचना निर्माण र उपकरण व्यवस्थापन मुख्य जिम्मवारी रहेको उहाँले बताउनुभयो । जनताको आवश्यकता धेरै भएको भन्दै उहाँले ती आवश्यकता पूरा गर्न सरकारले प्रयास गरिरहेको बताउनुभयो ।

भरतपुर अस्पतालको ६८औँ वार्षिकोत्सवमा सहभागी हुन चितवन आउनुभएका मन्त्री यादवले अस्पतालका विभिन्न विभागको निरीक्षण अनुगमनसमेत गर्नुभएको थियो । अनुगमनका क्रममा अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले अस्पतालबारे जानकारी गराउनुभएको थियो ।