काठमाडौँ — काठमाडौँ महानगरपालिकाले बर्खायाममा फोहरका कारण सिर्जना हुनसक्ने जोखिम घटाउन ‘विशेष सरसफाइ’बाट पूर्वतयारी थालेको छ । वडा नं २६ ठमेल क्षेत्रबाट कामपाले पूर्वतयारीअन्तर्गतको सरसफाइको काम थालेको हो ।

सफाइका क्रममा धुलो टिप्न र पानी छर्कन ब्रुमर र सडक पखाल्न जेट मेसिनको प्रयोग गरिएको महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सफाइ कार्यक्रममा वडा कार्यालय, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, नेपाल प्रहरी, टोल विकास संस्था, क्लब तथा सङ्घसंस्था र स्थानीयको सहभागितामा सञ्चालन हुने सरसफाइबाट डुबान घटाउन, डेङ्गुलगायत सङ्क्रमण घटाउन मद्दत हुनेछ ।

उहाँले भन्नुभयो, “हामीले सम्भावित जोखिमको पूर्वानुमान गरेका छौँ, यो जोखिमप्रति सर्वसाधारण सबैलाई सचेत गराउनुपर्छ, यो दायित्व पूरा गर्न सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छौँ, यो कार्यक्रमलाई अपनत्व ग्रहण गरेर साझेदार र सर्वसाधारणको स्वतःस्फुर्त सहभागिताको अपेक्षा गरेका छौँ ।”

वडा नं २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले नियमितसँगै विशेष सरसफाइका कार्यक्रम चलाएर वडा क्षेत्रलाई सुन्दर बनाउन काम गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यो ठमेललगायतका पर्यटकीयस्थल, गोङ्गबु आवास क्षेत्रजस्ता आवासीय क्षेत्र, नयाँ बसपार्कजस्ता बाह्य सम्पर्कको पहिलो स्थान भएको वडा हो, वडा क्षेत्रलाई सुन्दर बनाउन नियमित कार्यक्रमसँगै नागरिक सहभागिता चाहिएको छ, यसको संयोजनका लागि काम गरिरहेका छौँ ।”

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवी शर्माका अनुसार सञ्चयकोषबाट सुरु भएको सरसफाइ र सचेतनामूलक कार्यक्रम ज्याठा, क्वाबहाल, क्षेत्रपाटी, चाक्सीबारी, पर्यटनमार्ग, सातघुम्ती, भगवती मार्ग हुँदै सुरु भएकै विन्दुमा आएर समापन भएको हो । साइड ड्रेनमा भएको करिब चार रिक्सा माटो निकालिएको थियो ।

यसप्रकारका सफाइ कार्यक्रममा सहभागी हुनुलाई नागरिकले दायित्व मान्नु सफाइमा संलग्न अधिकारीले प्रतिक्रिया दिनुभयो । सफाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि कामपाले अहिले केही वडाबाट फोहरको वर्गीकरण गरेर अन्तिम व्यवस्थापनका लागि काम गरिरहेको छ । उक्त कार्य ३२ वटै वडाबाट कार्यान्वयन गर्ने कामपाले जनाएको छ ।