फाइल तस्वीर
बझाङ — प्रदेशसभा सदस्यको लागि आगामी वैशाख १५ गते बझाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा हुने उपनिर्वाचन लागि विभिन्न दल र स्वतन्त्र व्यक्तिसहित १० जनाको उम्मेदवारी दर्ता भएको छ । बझाङको चैनपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५ बजेसम्म १० जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

साँझ ५ बजेसम्म नेपाली काङग्रेसका तर्फबाट अभिषेक बहादुर सिंह, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर दर्जीको उम्मेदवारी दर्ता भएको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, सङ्घीय राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीका कमल घर्तीमगरले पनि आज उम्मेदवारी दर्ता गराउनुभएको छ भने नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्टको पनि उम्मेदवारी दर्ता भएको छ ।