फाइल तस्वीर

काठमाडौँ – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा काङ्ग्रेस एक्लैले बहुमत ल्याउने काम गर्न निर्देशन दिनुभएको छ । पार्टीको काठमाडौँ क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनको आज शनिबार उद्घाटन गर्नेक्रममा पार्टीका नेता कार्यकताहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।

सभापति देउवाले मुलुकमा विद्यमान राजनीतिक अस्थिरताप्रति चिन्ता प्रकट गर्दै आगामी निर्वाचनमा काङ्ग्रेसलाई बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

निर्वाचनको समयमा पार्टीभित्र गुट–उपगुट, घात—अन्तर्घात गर्दा पार्टीले नोक्सानी व्यहोर्नु परेको बताउँदै सभापति देउवाले अबका दिनमा पार्टीलाई बलियो बनाउन काङ्ग्रेसले एक्लै बहुमत ल्याउने अवस्था बनाउनु पर्नेमा जोड दिनुभयो ।

‘अहिलेको राजनीतिक अवस्थाको बारेमा मैले धेरै भन्नु छैन, तपाईंहरुलाई थाहा नै छ। तर अहिले यही कुरालाई ध्यानमा राखेर, मध्यनजर गरेर एक्लै जित्न सक्ने पार्टी, बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ’ भन्नुहुँदै सभापति देउवाले पार्टीका सबै साथीहरु एक भएर आपसी समझदारी र समन्वय गर्दै देशभर नै पार्टीलाई जिताउन लाग्नुपर्ने बताउनुभयो ।