गोरखामा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड ।
गोरखा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत आयोजना छिटै शिलान्यास गर्ने बताउनुभएको छ । बुढीगण्डकी जलासयुक्त आयोजनासँग सम्बन्धित निकायलाई तीब्ररूपमा आयोजनाका कामलाई अगाडि बढाउने गरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभएको हो ।

जिल्लाका स्थानीय पत्रकारहरुसँगको संक्षिप्त छलफलमा प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी जलासयुक्त आयोजनासँग सम्बन्धित निकायलाई तीब्ररूपमा आयोजनाका कामलाई अगाडि बढाउन निर्देशन दिएको जानकारी गराउनुहुँदै जिल्लाको विकास निर्माणमा आफूले विशेष ध्यान दिएको दावी समेत गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं पार्क निर्माणका लागि पनि आफूले बजेट व्यवस्था गर्ने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो “गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ । जलविद्युत, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु यो पटक जनताले बुझ्नेगरी बजेट बिनियोजन हुनेछ ।”

सरकारले सुशासन र सामाजिक न्यायमा विशेष ध्यान दिएको उल्लेख गर्दै उहाँले यसबीचमा सरकारले महत्त्वपूण काम गरेको स्पष्ट पार्नुभयो ।

“आगामी आर्थिक वर्षमा देशभर सुशासन एवं सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्ट्राचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ।”