भरतपुर — जिल्ला अदालत चितवनले काठमाडौंस्थित कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोगमा पक्राउ परेका माओवादीका पूर्व लडाकु कमाण्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले माओवादीका पूर्व लडाकु कमाण्डर खामलाई उक्त हत्या प्रकरणमा संलग्नता नरहेको भन्न नसकिने अवस्था रहेको भन्दै पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो ।

विगत डेढ दशकदेखि फरार रहेका पूर्व कमाण्डर खामलाई प्रहरीले मङ्गलबार काठमाडौंको ठमेलबाट पक्राउ गरी बुधबार बिहान चितवन ल्याइएको थियो । जिल्ला अदालत चितवनका श्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार खामको अभियोगका विषयमा बुधबार थुनछेक बहस भएको थियो ।

जिल्ला अदालत चितवनले सर्वोच्च अदालतबाट बुधबार साँझ मिसल झिकाएपछि खामको बयान लिइएको थियो । सरकारी तथा वादीका तर्फबाट ३ जना र प्रतिवादीका तर्फबाट ९ जना कानुन व्यवासायीले बहस गर्नुभएको थियो ।

शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजनका कमाण्डर रहेका बेला खामले काटेश्वरका ब्यापारी श्रेष्ठलाई घरबाटै उठाएर ल्याउन आदेश दिएको र शक्तिखोर डिभिजनमा खामसहित लडाकुहरुले नै कुटेर व्यापारी श्रेष्ठको हत्या गरेको अभियोग लागेको छ ।