फाइल तस्वीरः जोखबहादुर महरा, मुख्यमन्त्रीका दावेदार ।


दाङ — लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीका लागि लुम्बिनी प्रदेश माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दावी प्रस्तुत गर्नुभएको छ । बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् । हिजो बिहीबार सत्तागठबन्धन दलहरूबीच भएको सहमति अनुसार मुख्यमन्त्री नियुक्तिको लागि नेता महराले आज शुक्रबार दावी पेश गर्नुभएको हो ।

मुख्यमन्त्रीका लागि नेता महराले प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री नियुक्तिको नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र २ जनासहित ४४ जना सांसदहरुको समर्थन रहेको पत्र पेश गर्नुभएको छ ।

सङ्घीय सत्ता समीकरणमा आएको परिर्वतनसँगै नेपाली काङ्ग्रेस संसदीय दलका नेता समेत रहनुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी नेतृत्वको सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री चौधरीले पदबाट राजीनामा दिनुभएको थियो । प्रदेश प्रमुख शेरचनले आज शुक्रबार मात्र तीन दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार बनाउन आह्वान गरेका थिए ।

कुल ८७ सांसद् सङ्ख्या रहेको लुम्बिनी प्रदेशमामा नेपाल एमालेका २९, नेपाली काङ्ग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका चार सांसद छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादीका तीन÷तीन राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक÷एक र स्वतन्त्रबाट एक सांसद रहेका छन् ।

लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । नेता महराले ४४ जना सांसदको समर्थन सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ । नेता महरा आजै मुख्यमन्त्रीमा चयन हुनुहुने बताइएको छ ।