अत्तरिया — कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा निर्माण गरिएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । कोरोना महामारीका बेला सङ्घीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्ने उद्देश्यले बनाएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको हो ।
करिब दुई वर्षअघि सङ्घीय सरकारको रु २८ करोड ८१ लाखमा निर्माण भएको होल्डिङ सेन्टरमा ५९ वटा ब्लक बनाएका छन् । होल्डिङ सेन्टरमा २० वटा क्वारेन्टिन, दुईवटा चिकित्सक कक्ष, २२ वटा शौचालय तथा १५ वटा भान्साकोठा निर्माण गरिएका छन् । एक हजार क्षमताको होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरणमा भने अहिलेसम्म कुनै टुङ्गो लाग्न सकेको छैन ।
होल्डिङ सेन्टरको स्वामित्व सङ्घ, प्रदेश वा स्थानीय सरकार कसले लिने भन्ने अहिलेसम्म कुनै टुङ्गो नलागेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “छलफल धेरै भएको छ । कसको मातहत जाने भन्ने लिखित आइसकेको छैन ।”
“सङ्घीय सरकारको लगानीमा बनेको हो । कसलाई हस्तान्तरण गर्ने के सञ्चालन गर्ने हामीलाई केही निर्देशन आइसकेको छैन”, उहाँले भन्नुभयो । कैलालीको धनगढी उपमहनगरपालिकाले स्वामित्व लिएर बाल अस्पताल बनाउने प्रस्ताव गरेको भए पनि त्यसको केन्द्र सरकारबाट सहमति नआएको उपमहानगरका स्वास्थ्य शाखाप्रमुख योगेश अवस्थीले बताउनुभयो । “हामीले एउटा भवन लिएर बाल अस्पताल सञ्चालन गर्ने भनेर प्रस्ताव पेस गरेका थियौँ । हस्तान्तरणको सहमति आएन ।”
“सुरुमा प्रदेश सरकारले चलाउने भन्ने कुरा भएको थियो । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कुरा भएको थियो,” सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता हेमराज खड्काले भन्नुभयो, “स्वामित्व लिनका लागि मन्त्रालयबाट पहल भएको थियो । केन्द्रबाट त्यसको कुनै टुङ्गो लागेन ।”
विसं २०७८ वैशाखमा निर्माण सुरु भएको होल्डिङ सेन्टर २०७९ साउनमा निर्माण सम्पन्न भएको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । नेपाली सेनामार्फत हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माण गरेको थियो । हाल नेपाली सेनाले होल्डिङ सेन्टरको रेखदेख गरिरहेको छ । प्रयोगविहीन हुँदा होल्डिङ सेन्टर जीर्ण बन्दै जाने खतरा पनि बढेको छ । रासस