काठमाडौँ — हिउँदयामको चर्काे घाम सुरु भएसँगै खोलानाला सुक्न गई मुलुकका विभिन्न ठाउँमा खानेपानी समस्या देखिन थालेको छ । मुलुकको राजधानी काठमाडाँै उपत्यका क्षेत्रभित्रकै कतिपय बस्तीमा समेत खानेपानी समस्या टड्कारोरुपमा देखिएको छ । काठमाडौँ उपत्यकामा चक्रपथभित्र मेलम्ची खानेपानीको आपूर्ति केही हदसम्म सहज भए पनि मेलम्ची र सुन्दरीजलको खानेपानीको पाइप बिछयाइएका गोकर्णेश्वर क्षेत्रमा भने अहिले पानीको चर्काे अभाव देखिएको छ ।

यसैबीच, खानेपानीमन्त्री रामकुमार राईलाई त्यस क्षेत्रबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद, स्थानीय नगरपालिकाका प्रमुख एवं उपप्रमुख, उपभोक्ताहित संरक्षणसँग जोडिएका प्रतिनिधिले भेटेर समस्या यथाशीघ्र सम्बोधन गर्न माग गरेका छन् । काठमाडौँ महानगरपालिकावासीलाई खानेपानीका लागि भएको असजिलो अन्त्य गर्न पाइप बिच्छाउने सिलसिलामा परेको अप्ठेरोको विगतमा गाँठो फुकालेको घटना स्मरण गराउँदै उहाँहरुले सबैले खानेपानी सहजै खान पाउनुपर्ने माग गर्नुभयो ।

प्रतिनिधिसभा अर्थसमितिका सभापति सन्तोष चालिसेले काठमाडौँवासी तिर्खाएका बेला पाइप बिच्छाउन जग्गा उपलब्ध गराउनेहरु अहिले मर्कामा परेकाले सरकारले त्यस पाटोलाई बुझन आवश्यक रहेको बताउनुभयो ।

सांसद शान्ति श्रेष्ठले काठमाडौँ उपत्यकामा पानी वितरणका लागि ठूलो ट्याङ्की निर्माण गरिएका क्षेत्र वरपरका जनता खानेपानी नपाएर काकाकुल बन्नुपर्ने अवस्था कहिलेसम्म अन्त्य हुन्छ भनी प्रश्न गर्नुभयो । पूर्वसांसद रामेश्वर फुँयाल र कृष्णबहादुर राईले गोकर्णेश्वरका जनताले खानेपानी नपाउनु भनेको खानेपानीको पाइप बिच्छाइएको ठाउँमा तिर्खा हुने र विद्युत्को तार टाँगिएको ठाँउमा अँधेरोजस्तै भएको प्रतिक्रिया दिनुभयो ।

 गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल र उपप्रमुख सान्नानी लामाले विकास निर्माणसँग सम्बन्धित निकायबीच पूर्वाधार निर्माणमा समन्वय र सहयोग नहुँदा विनियोजित बजेट खाल्टो खन्न तथा पुर्नमा मात्रै सीमित हुन पुगेको विचार प्रकट गर्नुभयो ।

 गोकर्णेश्वर–१ देखि ५ सम्म सुन्दरीजलको र ६ देखि ९ सम्म मेलम्चीको खानेपानी वितरणको व्यवस्थाका लागि उपभोक्ता र जनप्रतिनिधिले खानेपानीमन्त्री राईसँग अनुरोध गर्नुभयो । सो अवसरमा मन्त्री राईले जनप्रतिनिधि, निर्माण व्यवसायी र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबीचको छलफलका आधारमा समस्या समाधानका लागि सरकारको तर्फबाट समस्या सम्बोधन गर्न हरसम्भव प्रयत्न हुने विश्वास दिलाउनुभयो ।