भक्तपुर — बाढीपहिरो होस् वा आगलागी, भूकम्प होस् वा दुर्घटना जस्तोसुकै विपद्मा पनि तालिम प्राप्त खोज, उद्धार, घाइतेको ओसारपसार तथा प्राथमिक उपचार टोली नहुँदा कैयौँले अकालमा ज्यान गुमाउनुपर्ने हुन्छ । अचानक आउने त्यस्ता विपद्का घट्नामा तत्कालै खोज, उद्धार तथा प्राथमिक उपचार टोली परिचालन हुँदा कैर्यौँ पीडितलाई अकालमा ज्यान जानबाट बचाउन सकिन्छ ।

यसैलाई मध्यनजर गर्दै चाँगुनारायण नगरपालिकाले नगरभित्र हुनसक्ने विपदमा तत्कालै तालिम प्राप्त दक्षजनशक्ति घट्नास्थल पुगेर खोज, उद्धार तथा प्राथमिक उपचार दिनसक्ने गरी ३० जना महिलासहित ८१ जनाको खोज, उद्धार, घाइतेको ओसारपसार तथा प्राथमिक उपचार गर्ने दक्ष स्वयंसेवक उद्धारकर्ताको दस्ता तयार पारेको छ । 

जुनसुकै बेलामा आइपर्ने जस्तोसुकै विपद्मा पनि खोज तथा उद्धार गर्ने र विपद प्रतिकार्यका लागि आवश्यक तालिम प्राप्त जनशक्ति तयार पार्ने उद्देश्यले उनीहरुलाई १० दिने तालिम प्रदान गरिएको नगर प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो । 

नगरपालिकाले प्रत्येक वडामा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरेको थियो । सोही अनुसार प्रतिकार्यका लागि विभिन्न तीन समूह एवं चरणमा तालिम प्राप्त उद्धारकर्तालाई निर्देशनसमेत दिइएको छ । 

अहिले तालिम लिएकामध्येबाटै छनोट गरी कम्तीमा २५ जनालाई सशस्त्र प्रहरीबलसँगको सहकार्यमा अग्रवर्ती प्रशिक्षणमा सहभागी गराइ थप दक्ष बनाइने नगर प्रमुख खत्रीले बताउनुभयो । विपद्मा खटिने स्वयंसेवकका लागि नगरपालिकाले न्यूनतम सुविधा उपलब्ध गराउने र निःशुल्क बीमा गराइने छ । 

चाँगुनारायण नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सोमप्रसाद प्रधानले आगामी दिनमा थप प्रशिक्षण सञ्चालन गरी प्रत्येक टोलमा उद्धारकर्ता तयार गरिने जानकारी दिँदै अहिले आगलागी तथा वन डढेलोका घटना रोक्न तालिम प्राप्त जनशक्ति अग्रसर हुुनुपर्ने बताउनुभयो । 

नगरपालिकाले दस्तालाई १० दिने तालिममा विपद् व्यवस्थापनका क्षेत्रमा गरेका प्रगति र प्रयास, खोज तथा उद्धारको परिचय, खतराको प्रकार र यसका विशेषता, खोज तथा उद्धारको संरचना र टोली निर्माण, खोज तथा उद्धारका उपकरण सुरक्षित र सुरक्षाबारे जानकारी दिइएको थिये । 

साथै घटना आदेश प्रणाली, आधारभूत खोजविधि, सञ्चार, समन्वय र प्रतिवेदन, आगोजन्य आपत्काल, उद्धारमा डोरीको प्रयोग अभ्यास, बाढीपहिरो र भूकम्पको अवस्थामा बाहिर निकाल्ने तरिका अभ्यास पनि गराइएको थयो । तालिममा, प्राथमिक उपचार परिचय, उद्देश्य र सिद्धान्त, प्राथमिक उपचारका चार चरण, श्वाशप्रश्वास समस्या (सिपीआर), रक्तस्रावको प्राथमिक उपचार, भूइँचालो जाँदा गर्नुपर्ने उद्धार र प्राथमिक उपचार, घाइतेको ओसारपसारजस्ता विषयमासैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइएको संयोजक एवं नगरपालिकाका विपद् विज्ञ दिनेश थापाले जानकारी दिनुभयो ।