काठमाडौँ — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । सङ्घीय संसद भवन नयाँबानेश्वरमा जारी बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नुहुने कार्यसूची रहेको छ ।

बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको छ ।


त्यसैगरी आजको बैठकमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमस्टेक बडापत्रको प्रावधानमाथि सदनमा छलफल तथा अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको ’विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।