काठमाडौँ — नेपालका अनुसन्धानदाताले समाजलाई योगदान दिने खालको नयाँ अनुसन्धान आवश्यक रहेको बताएका छन् ।नेपाल दार्शनिक अनुसन्धान केन्द्र (एनपीआरसी) र अनुसन्धानदाता समाजले आज यहाँ आयोजना गरेको ‘बहुविधा अनुसन्धानमा उदयमान मुद्दा’ विषयक कार्यक्रममा अनुसन्धानले मात्र देशलाई सही दिशामा लैजाने बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालयका प्रा डा केशवराज जोशीले गाउँ तहसम्म पुगेर गहन ढङ्गले अनुसन्धान गर्नुपर्ने बताउनुभयो । “ग्रामीण क्षेत्रका समस्या के छन्, समाधानका उपाय के हुनसक्छ, सरोकारवालाको भूमिका कस्तो रहन सक्छ, भन्ने विषयलाई गहन अध्ययन गर्नुपर्छ, उक्त अध्ययनले देश विकासमा सहयोग पुग्ने विश्वास मैले लिएको छु”, उहाँले भन्नुभयो ।

प्रा डा जोशीले नेपालमा अनुसन्धान गर्ने क्रम कमी भएको बताउँदै समाजलाई योगदान गर्ने अनुसन्धान आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपाली सेना नर्सिङ क्याम्पसकी प्रा डा सरस्वती शर्माले अनुसन्धानलाई व्यापकता दिएर अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । अनुसन्धान क्षेत्रले मात्र नयाँ कुराहरु निर्माण गर्ने भएकाले नयाँ पुस्ता अनुसन्धानमा लाग्नुपर्ने उहाँको सुझाव थियो ।

एनपीआरसीका अध्यक्ष डा तेजबहादुर कार्कीले दिगो विकासका लागि अनुसन्धानमा आधारित कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । डा दशरथ न्यौपानेले अनुसन्धान क्षेत्रको विकासका लागि बहुविषयक अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।

अनुसन्धानदाता समाजका अध्यक्ष डा दिवतकुमार श्रेष्ठले शिक्षा पद्दतिमा आमूल परिवर्तन गर्नका लागि नयाँ खोज र अनुसन्धान आवश्यक रहेको बताउनुभयो । समाजका उपाध्यक्ष डा महेश्वरप्रसाद यादवले अनुसन्धानका नवीन विद्याहरु औँल्याउँदै अगाडि बढ्नुपर्ने जोड दिनुभयो । कार्यक्रममा अनुसन्धानदाताहरुले १५ वटा अनुसन्धानमुलक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।