अत्तरिया — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोख्रेलले मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । माक्र्सवादी अध्ययन फाउण्डेसनले आज कैलालीको धनगढीमा आयोजना गरेको ‘कला, साहित्य र संस्कृतिको प्रभाव र महत्व’सम्बन्धी प्रदेशस्तरीय खुला साहित्यिक बहस कार्यक्रममा उपमहासचिव पोख्रेलले अन्धविश्वास र परम्परागत कुराले समाजको विकास नहुने बताउनुभयो ।

“हामीले हाम्रो कला, साहित्य र संस्कृतिलाई रक्षा गर्नुपर्नेछ । कुन कलासंस्कृतिलाई रक्षा गर्ने भन्ने पनि हेर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “समाज अगाडि बढाउन उत्प्रेरित गर्ने साहित्य जीवनशील साहित्य हो । त्यस्ता कला संस्कृतिको जगेर्ना गर्न आवश्यक छ ।”

उपमहासचिव पोख्रेलले भन्नुभयो, “जुन कला, साहित्य, संस्कृति अहिलेको युग सापेक्ष हुँदैन । वैज्ञानिक हुँदैन । आर्थिकरुपले धान्न नसक्ने हुन्छ । त्यो कला, साहित्य मर्छ । साहित्य, कला, संस्कृति समयानुकूल हुनुपर्छ । अबको साहित्य सिर्जना प्रविधिअनुसार अगाडि बढ्नुपर्छ ।” उहाँले समाजमा व्याप्त छाउपडी, छुवाछूतजस्ता विभेदलाई भत्काउन आवश्यक रहेको पनि बताउनुभयो ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घका केन्द्रीय सल्लाहकार लोकेन्द्रप्रसाद जोशीले ‘सुदूरपश्चिम र हाम्रो संस्कृति’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने माक्र्सवादी अध्ययन फाउण्डेसनका अध्यक्ष केशवनाथ योगीले कला, साहित्यको प्रभाव र महत्वसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागी साहित्यकारहरुले कार्यपत्रमाथि आ–आफ्नो धारणा राख्नुभएको थियो ।