काठमाडौँ — नेपाल प्रहरीका आठ जना डीएसपीहरुलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयको बढुवा समितिको हिजो बुधबार बसेको बैठकले आठ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकप्रसाद राईका अनुसार डीएसपीहरु ढेकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, निरन्जन दत्त भट्ट, श्यामबाबु ओलिया, राजन लिम्बू र विनोद घिमिरेलाई एसपीमा बढुवाको लागि सिफारिस गरिएको छ भने एक नम्बर वरीयतामा रहेका डीएसपी प्रदीप बहादुर क्षेत्रीलाई छुटाइएको छ ।

यसैगरी छ नम्बर वरीयतामा रहेका नारायण रञ्जितकार पनि बढुवाको सुचीमा परेनन् । वि.सं. २०७२ साउन १ गते इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका र मेरिट लिस्टमा अगाडि रहेका क्षेत्री र रंजितकारलाई पछाडि पारेर नौ नम्बर वरीयतामा रहेका सन्तोष तामाङ र बाह्रऔँ नम्बरका विनोद घिमिरेलाई बढुवा सिफारिस गरिएको छ । मेरिट कायम राखेर बढुवा गर्ने वा शक्तिकेन्द्रका निकटलाई बढुवा गर्ने भन्नेबारे मतभेद हुँदा लामो समयदेखि बढुवा रोकिएको थियो ।