दाङ — तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ५० बर्षीय पूर्णबहादुर चौधरी कृषि पेसामा संलग्न हुनुहुन्छ । उहाँले तोरी, चना, केराउजस्ता तरकारीखेती गर्दै आउनुभएको छ । त्यसो त उहाँले यसअघि पनि नौ बिघा जमिनमा तरकारी लगाउनुहुन्थ्यो तर पहिलेभन्दा अहिले उत्पादन बढेको छ ।
“पहिलेको तुलनामा १० गुणा बढी उत्पादन हुन्छ”, चौधरीले भन्नुभयो, “त्यसैले अहिले खुसी छु ।” उहाँको जमिनमा तरकारी उत्पादन बढ्नुको प्रमुख कारण लिफ्ट सिँचाइ आयोजना हो । लिफ्टिङबाट सिँचाइ गरेपछि बेमौसमी तरकारी उत्पादन गर्न उहाँलाई सजिलो भएको छ । उहाँ पूर्ववडा सदस्य पनि हुनुहुन्छ । कृषि पेसा र राजनीति दुवैलाई समानान्तर रूपमा अघि बढाइरहनुभएको छ ।
पहिले गाउँ नजिकै बबई नदी बगे पनि सिँचाइ अभावले एक याममा मात्र खेती हुन्थ्यो । आम्दानी खासै हुन्नथ्यो । घरमा खानका लागि पुग्थ्यो । लिफ्ट सिँचाइ आयोजना सञ्चालन भएपछि धेरै सजिलो भएको उहाँको भनाइ छ ।
लिफ्टका लागि सोलार र विद्युत् दुवै जडान गरेको उहाँले बताउनुभयो । उहाँले गत वर्ष घरखर्च चलाएर वार्षिक रु पाँच लाख आम्दानी गर्नुभएको थियो । यो वर्ष त्योभन्दा धेरै आम्दानी हुने आशामा हुनुहुन्छ । उहाँले खेती गर्न कृषि औजारको प्रयोग गरिरहनुभएको छ । ती कृषि औजार लुम्बिनी प्रदेश सरकारबाट अनुदानमा प्राप्त भएका हुन् ।
पूर्णबहादुर मात्रै होइन सिँचाइको सुविधा भएपछि मटेरिया गाउँ बाह्रै महिना हरियाली हुन थालेको छ । मटेरिया गाउँ पकेट तरकारीखेतीका रूपमा चिनिन थालेको छ । सोही गाउँकी ४४ वर्षीया अष्टुमी चौधरीले पनि तोरी र तरकारीखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ । पहिले खान नपुग्ने जमिनबाटै अहिले बेच्न पुग्ने अन्न र तरकारी उत्पादन गर्न थाल्नुभएको हो ।
“यसको मुख्य कारण सिँचाइ नै हो”, अष्टुमीले भन्नुभयो, “यसपटक तीज, दसँै, तिहारको समयमा टमाटर र काउलीजस्ता तरकारी बेचेरै रु एक लाख ५० हजार कमाएँ ।” उहाँले तोरी तथा तरकारीखेतीबाट खर्च कटाएर वार्षिक रु साढे तीन लाख बचत गरेको बताउनुभयो ।
केही वर्षपहिले बृहत् सिँचाइ योजना दाङले रु एक करोड ५० लाखको लगानी र गाउँलेहरूको रु पाँच लाख मूल्य बराबरको श्रमदानमा लिफ्ट सिँचाइ आयोजना निर्माण गरिदिएको थियो । सोही आयोजनाले गर्दा मटेरियाको मुहार नै फेरिएको हो । आयोजनाअन्तर्गत गाउँ नजिकै भएर बग्ने बबई नदीको पानीलाई करिब छ सय मिटर लम्बाइ रहेको लिफट सिँचाइमार्फत पानी तानिएको छ । त्यसरी तानिएको पानीले मटेरिया आसपासको दुई सय बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ जसमा एक सय २० घर थारू समुदाय र २० घर अन्य समुदाय लाभान्वित छन् ।