काठमाडौँ — भौगोलिक विकटता, सामाजिक विभेद र अपाङ्गमैत्री शिक्षा प्रणालीको अभावमा अपाङ्गता भएका जनसङ्ख्यामध्ये आधामात्र साक्षर रहेको देखिएको छ । मुलुकको कूल साक्षरता दर ७६ दशमलव २ प्रतिशत रहँदा अपाङ्गता भएका व्यक्तिको साक्षरता दर ५० दशमलव १ प्रतिशत मात्र छ । अपाङ्गता भएका महिलाको साक्षरता दर अझै न्यून छ । कूल अपाङ्गता भएका जनसङ्ख्याको ३८ दशमलव ५ प्रतिशत मात्र महिला साक्षर रहेको छ । ‘राष्ट्रिय जनगणना २०७८’को जनगणनामा सङ्कलित तथ्याङ्कका आधारमा सार्वजनिक गरिएको अपाङ्गसम्बन्धी तथ्याङ्कीय प्रतिवेदनमा यो तथ्य उजागर भएको हो ।
अघिल्लो जनगणना २०६८ मा अपाङ्गता भएका व्यक्तिको साक्षरतादर ४३ दशमलव २ रहेको थियो । उक्त जनगणनाअनुसार पुरुषको साक्षरतादर ५२ दशमलव २ र महिलाको ३३ दशमलव ७ रहेको थियो । हालै सार्वजनिक प्रतिवेदनसँग तुलना गर्दा साक्षरतादर सुधारोन्मुख देखिए पनि उत्साहजनक नदेखिएको सरोकारवालाको भनाइ छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय र राष्ट्रिय अपाङ्ग महासङ्घ (एनएफडिएन) ले संयुक्तरुपमा प्रकाशन गरेको ‘राष्ट्रिय जनगणना २०७८ अपाङ्गसम्बन्धी तथ्याङ्कीय प्रतिवेदन’ले कूल जनसङ्ख्याको २ दशमलव २ प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै प्रकारको अपाङ्गताको लक्षण देखिएको छ । प्रतिवेदनअनुसार मुलुकभर अपाङ्गता भएका जनसङ्ख्या छ लाख ४७ हजार सात सय ४४ छ । पाँच वर्ष वा सोभन्दा माथि उमेर समूहका छ लाख २१ हजार चार सय २३ जनसङ्ख्यामध्ये तीन लाख ११ हजार छ सय ३० जनसङ्ख्या मात्र साक्षर छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको जनसङ्ख्या शाखाका प्रमुख ढुण्डिराज लामिछानेले २०७८ सालको जनगणनामा पहिलो पटक अपाङ्गताको खण्डीकृत तथ्याङ्क सङ्कलन र विष्लेषण गरिएको बताउनुभयो । प्रमुख लामिछानेले भन्नुभयो, “महासङ्घसँगको तथ्याङ्कीय विश्लेषणले एक हदसम्म अपाङ्गता क्षेत्रको अपुरो तथ्याङ्कलाई पूरा गरेको छ ।”
बाह्र प्रकारका अपाङ्गतालाई विभाजन गरी विश्लेषण गरिएको प्रतिवेदनमा सबैभन्दा बढी साक्षर दृष्टिविहीन रहेका छन् । पूर्ण दृष्टिविहीनमध्ये ६३ दशमलव ३ प्रतिशत साक्षर छन् । यो समूहमा पुरुष ७० दशमलव ४ र महिला ५६ दशमलव ३ प्रतिशत साक्षर छन् । बौद्धिक अपाङ्ग भएका सबैभन्दा कम साक्षर छन् । यो समूहका कूल २० दशमलव ४ प्रतिशत जनसङ्ख्या मात्र साक्षर छन्, त्यसमा पुरुष २२ दशमलव ८ र महिला १७ दशमलव ८ रहेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी शारीरिक अपाङ्गता भएकामध्ये ५९ दशमलव ९ प्रतिशत साक्षर छन् । पुरुष ६८ दशमलव ३ र महिला ४७ दशमलव ८ प्रतिशत साक्षर रहेका छन् । न्यूनदृष्टि भएका ४४ दशमलव ६ प्रतिशत साक्षरमध्ये पुरुष ५९ दशमलव ६ र महिला ३० दशमलव ५ प्रतिशत छन् । राष्ट्रिय अपाङ्ग महासङ्घका प्रवक्ता रमेश पोखरेलले पूर्ण दृष्टिविहीनको तुलनामा न्यूनदृष्टिविहीनको साक्षरता दर न्यून हुनुमा उनीहरुले सवलाङ्ग नागरिकसँगै बसेर पढ्नुपर्ने, उही पाठ्यक्रम र उही शैक्षिक सामग्रीको साहारा लिनुपर्ने बाध्यता भएको बताउनुभयो । पूर्ण दृष्टिविहीनका लागि ब्रेललिपिको व्यवस्था, अलग्गै कक्षाकोठा, होस्टलको प्रबन्ध आदिका कारण पढ्न सहज भएकाले यो समूहको साक्षरता दर पनि राम्रो भएको पोखरेलको भनाइ छ ।
प्रतिवेदनअनुसार बहिरा भएकाको साक्षरता दर ४० दशमलव ४ प्रतिशत रहेकामा पुरुषको ५० दशमलव ५ र महिलाको २९ दशमलव २ रहेको छ । सुस्त श्रवण भएकाहरुको साक्षरता दर ४१ दशमलव ५ रहेकामा पुरुषको ५४ दशमलव ३ र महिलाको २८ दशमलव ४ प्रतिशत रहेको छ । यसैगरी श्रवण दृष्टिविहीनको साक्षरता दर ४४ दशमलव ९ रहेकामा पुरुषको ५६ दशमलव १ र महिलाको ३२ दशमलव ४ प्रतिशत रहेको छ । स्वर र बोलाइसम्बन्धी अपाङ्ग भएकाको साक्षरता दर ३८ दशमलव ८ छ, त्यसमा पुरुषको ४४ दशमलव ५ र महिलाको ३१ दशमलव ४ प्रतिशत रहेको छ । मानसिक वा मनोसामाजिक अपाङ्गभएकाको साक्षरता दर ४६ दशमलव ३ प्रतिशत रहेकामा पुरुषको ५३ दशमलव ९ र महिलाको ३७ दशमलव ७ प्रतिशत रहेको छ । हेमोफोलिया भएकाहरुको साक्षरता दर ६६ दशमलव १ रहेको छ, त्यसमा पुरुषको ७६ दशमलव ७ र महिलाको ५६ दशमलव ४ प्रतिशत रहेको छ ।
यस्तै अटिजम भएकाको साक्षरता दर ३० दशमलव ४ रहेको छ, जसमा पुरुषको ३८ दशमलव ८ र महिलाको २३ दशमलव ६ प्रतिशत रहेको छ । बहुअपाङ्ग भएकाको साक्षरता दर ४७ दशमलव ९ प्रतिशत छ भने ५३ दशमलव १ र महिलाको ४१ दशमलव १ साक्षरता देखिन्छ ।
महासङ्घका अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गताको खण्डीकृत तथ्याङ्क सार्वजनिक भएसँगै अपाङ्गता भएका व्यक्तिले सामाजिक जीवनमा विभेदपूर्ण ढङ्गले पाइरहेका अनेक प्रकारका अवसरबारे जानकारी भएको बताउनुभयो । “यस क्षेत्रमा हामीले अहिलेसम्म समग्रतामा तथ्याङ्क सङ्कलन र प्रकाशन गरेका थियौँ”, अध्यक्ष आचार्यले भन्नुभयो, “यसपटक खण्डीकृत तथ्याङ्क प्रकाशन भएका कारण अपाङ्गता भएका महिलाको साक्षरता दर यती कमजोर रहेछ भन्ने थाहा भयो ।”
अपाङ्गता भएकाको शैक्षिक अवस्था कमजोर हुनुमा पाठ्यक्रमदेखि विद्यालय संरचनासम्म समस्या रहेको अध्यक्ष आचार्यको भनाइ छ । “पाठ्यक्रम पनि अपाङ्गमैत्री छैनन् । सामान्य विद्यालय भवनमा अपाङ्गता भएका विद्यार्थी कक्षामा प्रवेश गर्नसक्ने अवस्था छैन, जसले गर्दा चाहेर पनि उनीहरुले पढ्न पाएका छैनन् ।”
अपाङ्ग मानवअधिकार केन्द्रका निर्देशक जगदीशप्रसाद अधिकारीले पाठ्यक्रम, ब्रेललिपिका पुस्तक, शिक्षक र पूर्वाधारका अभावकाबीच यस क्षेत्रको साक्षरता र शिक्षा प्रगतिउन्मुख रहेकामा सन्तोष व्यक्त गर्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आँकडाअनुसार समग्रमा विद्यालय जाने उमेरका चार प्रतिशत बालबालिका विद्यालय बाहिर छन्, त्यसमध्ये ८० प्रतिशत अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् ।