काठमाडौँ — सुन तस्करी प्रकरणमा पक्राउ पर्नुभएका नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश दुर्गा प्रसाद खनालको इजालसले महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो ।

पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वको जाँचबुझ आयोगले सुन तस्करी प्रहरणमा उच्च राजनीतिक नेतृत्व पनि जोडिएको प्रतिवेदन दिएसँगै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महरा आज सोमबार बिहान कपिलवस्तुबाट पक्राउ पर्नुभएको हो । उहाँलाई आजै काठमाडौँ ल्याएर म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालका अनुसार प्रहरीको निगरानीमै रहेका बेला महरा उपत्यकाबाट बाहिरिदैं गर्दा नवलपुरको बर्दघाट पुगेको अवस्थामा प्रहरीले पछ्याउन थालेको र उहाँलाई रोल्पा जान लागेको अवस्थामा आज बिहान कपिलवस्तुबाट पक्राउ गरेर जहाजमा भैरहवा हुँदै काठमाडौं ल्याइएको हो ।