गोदावरी — कैलालीका दुई स्थानीय तहका दलित तथा सीमान्तकृत महिलालाई बिउपुँजी प्रदान गरिएको छ । धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकाका दलित तथा सीमान्तकृत महिलालाई उद्यमी बनाउने उद्देश्यले बीउपुँजी प्रदान गरिएको हो ।

दुईवटै स्थानीय तहका विभिन्न वडामा गठन गरिएका महिला समूहका सदस्यमध्ये १०÷१० जनालाई छनोट गरी जनही रु २१ हजारका दरले बीउपुँजी प्रदान गरेको दलित महिला सङ्घ(फेडो) ले जनाएको छ । सो पुँजी दलित तथा सीमान्तकृत समुदायका महिलाले उद्यमशील क्षेत्रमा खर्च गर्नुपर्ने दलित महिला सङ्घ(फेडो) कैलालीका कार्यक्रम संयोजक विनोद घिमिरेले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका दलित तथा सीमान्तकृत समुदायका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले बिउपुँजी वितरण गरिएको उहाँले बताउनुभयो । दुईवटै पालिकाबाट छनोट भएका समूहका महिलालाई उद्यमी बनाउन तालिम दिएर बिउपुँजी प्रदान गरिएको जनाइएको छ । 

बिउपुँजी पाएका महिलाले सो पुँजी लगानी गरी एक वर्षभित्र उक्त रकम आआफ्नो समूहमा फिर्ता गरेर अरु उद्यमी महिलामा लगानी गर्नुपर्ने घिमिरेले बताउनुभयो । उपमहानगरपालिकाका विभिन्न वडामा गठन गरिएका पाँच समूहमध्ये एक समूहबाट दुई जनाका दरले १० महिलालाई छनोट गरी रकम हस्तान्तरण गरिएको फेडो कैलालीका अध्यक्ष सविना सुनारले बताउनुभयो ।

उपमहानगरपालिकाको संयोजनमा वडा नं १, ३, ५, १२ र १८ का महिलालाई बिउपुँजीबापत रकम प्रदान गरिएको हो । यसैगरी गौरीगङ्गाका वडा नं ३, ६, ७, ८ र ९ बाट दुई÷दुई महिला छनोट गरी बिउपुँजी हस्तान्तरण गरिएको जनाइएको छ । 

दलित तथा सीमान्तकृत महिलालाई अधिकार मात्र नभएर आत्मनिर्भर हुन आवश्यक रहेकाले अधिकारसँगै क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको अध्यक्ष सुनारको भनाइ छ । प्रदान गरिएको रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने जनाइएको छ । न्यून आय भएका दलित तथा सीमान्तकृत महिलालाई वितरण गरिएको सानो पुँजीले उद्यमशील बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको जनाइएको छ ।