महोत्तरी — नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले वर्तमान निर्वाचन प्रणालीमा सुधार जरुरी भएको धारणा राख्नुभएको छ । आज महोत्तरीको बर्दिवासमा नेपाली काङ्ग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले निर्वाचनमा बढेको विकृति अन्त्यका लागि निर्वाचन प्रणालीमा तत्काल सुधारका लागि संविधान संशोधनको आवश्यकता औँल्याउनुभयो ।

अहिलेको निर्वाचन प्रणालीले स्थायी सरकार दिन नसक्ने भन्दै उहाँले चुनावमा बढेको विकृति निस्तेज गर्न र प्रतिस्पर्धालाई विचार र निष्ठासँग बाँध्न अपर्याप्त देखिएको हुँदा यसमा संशोधनको आवश्यकता रहेको उल्लेख गर्नुभयो । नेपाली काङ्ग्रेसमा निर्वाचन प्रणाली सुधार र शासकीयस्वरुपलगायतका विषयमा बहस सुरु भएको सङ्ग्रौलाले बताउनुभयो ।

राजनीतिक दलहरुले भ्रष्टाचार अन्त्य र सुशासन प्रवद्र्धनका कुरा गरे पनि यसलाई कार्यान्वयन गर्नेतिर सुदृढ इच्छाशक्ति देखाउन नसकेका उहाँको भनाइ थियो । पछिल्ला केही वर्षयता सरकार बन्ने, ढल्ने अस्थिर प्रक्रियाले जनतामा झन् बढी निराशा बढेको उहाँले उल्लेख गर्नुभयो । मुलुकमा बढेको अस्थिरताको सम्बोधन नेपाली काङ्ग्रेसले मात्र गर्नसक्ने उहाँको दाबी छ ।

सङ्ग्रौलाले भन्नुभयो, “हामी यो पद्धतिलाई आत्मसात् गरेर मुलुकको समृद्धि र सुदृढ सरकार दिन अघि बढेका छौँ ।” आगामी निर्वाचनमा जनताको साथले काङ्ग्रेस यो अभिभारा पूरा गर्ने जिम्मेवारीसाथ सङ्गठन सुदृढीकरणमा लागेको उहाँको भनाइ छ ।