फाइल तस्वीरः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ।
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सङ्घीय सरकारले हिजो बुधबार विश्वासको मत प्राप्त गरेसँगै अब प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषय प्रारम्भ भएको छ । फागुन २१ गते पछि फेरिएको सत्ता गठबन्धनबाट बहिर्गमित नेपाली काङ्ग्रेसले कोशी प्रदेश सरकारको सरकारलाई जोगाउने विषयमा आज बिहान पार्टी सभापति शेरबहादुर देउवा निवासमा छलफल भएको छ ।

कोशी प्रदेशमा काङ्ग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने निष्कर्ष निकाल्दै मुख्यमन्त्री केदार कार्की नेतृत्वकै सरकारलाई बलियो बनाउन रणनीति बनाउने भएको छ ।


पार्टी सभापनि देउवा निवासमा आज भएको छलफलमा पार्टीका दुवै उपसभापति, दुवै महामन्त्रीका साथै नेता डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहितको बैठक बसेको थियो ।

सो अवसरमा महामन्त्री गगन थापाले सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की कोशीको मुख्यमन्त्री बनेकाले यसको विकल्प नभएको निष्कर्ष निकालिएको बताउनुभएको थियो । सो छलफलमा मुख्यमन्त्री कार्कीले आफ्नो नेतृत्वको कोशी प्रदेश सरकारलाई निरन्तता दिनुको विकल्प नभएको बताउनुभएको थियो ।


यद्यपि, कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्की नेतृत्वको अल्पमतको सरकार धरापमा छ । कोशी प्रदेशमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मिलेपछि मुख्यमन्त्री कार्की अल्पमतमा पर्नुहुने निश्चित छ ।