राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ।


काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक व्यक्ति नै भ्रष्टाचार र अनियमिततामा मुछिने विकृति बढेको उल्लेख गर्दै यसले जनतामा निराशा बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग लिदै जनमोर्चाका अध्यक्ष एवम् सांसद केसीले जनतामा निराशा बढेको बताउनुभएको हो ।

बैठकमा बोल्दै सांसद केसीले भन्नुभयो, “जसरी पनि चुनाव जित्नुपर्ने र सरकारमा सामेल भएर खर्च उठाउने प्रवृत्ति बढ्यो । यो संसदीय व्यवस्थाको नकारात्मक प्रवृति हो । यसबाट अधिकांश नेता कार्यकर्ताहरु सिकार भएका छन् ।”

अध्यक्ष केसीले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सुनतस्करी र अनुचित लेनदेनमा मुछिएका प्रभावशाली व्यक्तिलाई सरकारले कारवाही नगरेकोमा गुनासो गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन नसक्ने पनि स्पष्ट पार्नुभयो ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शैक्षिक परामर्शका नाममा ठगी गर्ने, मानव बेचविखन तथा मानवाधिकार हनन गर्ने, सार्वजनिक जग्गा हड्प्ने, सुन तस्करी संलग्न जोसुकै भएपनि कारवाही गर्न माग गर्नुभयो । उहाँले चुरे दोहन रोक्नुपर्ने बताउँदै खेतीपातीका लागि आवश्यक जग्गा राखेर मात्र सहरको विकास गर्नुपर्नेमा जोड दिनुभयो । साथै सङ्घीय राजधानी दाङमा सार्नुपर्ने सुझाव दिनुभयो । उहाँले पनि प्रधानमन्त्री दाहाललाई मत दिन नसकिने पनि जानकारी गराउनुभयो ।