नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष/सांसद रञ्जिता श्रेष्ठ ।


काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिक स्थायित्व र सुशासनका लागि विश्वासको मत दिने बताउनुभएको छ । आज बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् सांसद् रञ्जिता श्रेष्ठले यस्तो बताउनुभएको हो ।

साना राजनीतिक दलहरू सत्ताको सहारा मात्र नभएर नेपाली जनताको ठुलो भरोसा भएको बताउँदै सांसद रञ्जिताले बैठकमा भन्नुभयो ‘साना राजनीतिक दलहरू सत्ताको सहारा मात्र नभएर नेपाली जनताको ठुलो भरोसा हुन् । हामी साना दल भनेर सबैलाई थाहा छ । चार सिटको पार्टीले पनि विश्वासको मत दिइरहेको छ । यो कुरा प्रधानमन्त्रीले महसुस गर्नुहुनेछ ।’

उनले ठुला दल अस्थिर सत्ता केन्द्रित गतिविधिमा केन्द्रित हुँदा साना दल कमजोर नभएर सचेत र सबल हुँदै गएको दावी गर्दै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिताले आफ्नो दलले विश्वासको मत दिने बताउनुभएको हो । उहाँले साना दलको मतको उचित प्रयोग गर्नसमेत उहाँले ठूला दलहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।