काठमाडौँ– नवनिर्वाचित राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम शपथ दिलाउनुभएको हो ।

शपथपछि अध्यक्ष दाहालले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई सिंहदरबारमा राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, संसद् सचिवालयमा महासचिव लगायत कर्मचारीहरूले स्वागत गर्नुभएको थियो ।

पदभारका क्रममा उहाँले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्थाअनुसार राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रिय सभा सदस्यहरूका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गर्नुभयो । सो क्रममा सञ्चारकर्मीहरुसँगको संवादमा उहाँले महत्वपूर्ण विधेयकहरूलाई अघि बढाउनका लागि सबै दलहरूलाई साथमा लिएर अघि बढ्ने बताउनुभयो ।