काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बाल सुधार गृहलाई व्यवस्थित गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री चौधरीले बाल सुधार गृहको मौजुदा अवस्था अवलोकन गरी नीतिगत परिमार्जनलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

“मन्त्रालयले नीतिगत परिमार्जनलाई पहिलो प्राथमिकतामा राखेको छ । मन्त्रालयले बाल सुधार गृहको मौजुदा व्यवस्था अवलोकन गरी यस क्षेत्रका समस्या निराकरण गर्न नीतिगत सुधार गर्न पहल गर्छौं नीतिगतरुपमा स्पष्टता ल्याउँछौँ”, उहाँले भन्नुभयो, “बाल सुधार गृहमा देखिएका समस्या संवेदनशील, गम्भीर छन् । स्थानीय तहसँगको समन्वयनमा यस क्षेत्रका शिक्षा, खानेपानी, स्वास्थ्यलगायतका समस्या समाधानलाई प्रभावकारिता बनाउनेतर्फ मन्त्रालय सजग छ ।”

बाल सुधार गृृहको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा विभिन्न मन्त्रालयले गरिरहेका काम कारबाहीका सन्दर्भमा समितिले महिला, कानुन, न्याय तथा संसदीय र शिक्षा, विज्ञान तथा प्रविधिलगायतका मन्त्रालयलाई आमन्त्रण गरेको थियो ।

समिति सभापति किरणकुमार साहले बाल सुधार गृहमा भएका तोडफोड, झडपका घटनाप्रति समितिले चासो देखाउँदै अवलोकन गरेको बताउनुभयो । अवलोकनका क्रममा सुधार गृहले न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालन गरिरहेकाले बालबालिकाका संवेदनशील विषयमा सम्बन्धित पक्ष समस्या समाधानतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।

समितिका सदस्य शोभा ज्ञवालीले बाल सुधार गृह विषयमा समितिले गरेका निर्णय, निर्देशनको कार्यान्वयन फितलो रहेको बताउँदै बाल सुधार गृहका बालबालिकाको उमेर समूह छुट्याएर राख्नुपर्नेमा जोड दिनुभयो । सांसद सिताकुमारी रानाले बाल सुधार गृहमा रहेको बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्था नाजुक रहेकाले मन्त्रालय तत्काल समाधान गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

बैठकमा मन्त्रालयले निर्देशिका तयार पारी स्थानीय तहसँग समन्वयन गर्नसकेमा बाल सुधार गृहका समस्या न्यूनीकरण गर्न सकिने, स्वच्छ खानेपानी तथा पोषणलाई प्राथमिकतामा राख्नुपर्ने, उमेर समूह छुट्याई बालबालिकाको संरक्षण गर्नुपर्ने, स्वच्छ खानेपानी, पठनपाठनको व्यवस्था, जिम्मेवार पक्षलाई उत्तरदायी बनाउनुपर्नेलगायतका विषय उठान गर्नुभएको थियो ।

बैठकमा महिला मन्त्रालयका प्रवक्ता तथा सहसचिव इन्दु घिमिरेले बाल सुधार गृहका समस्या समाधान गर्न मन्त्रालय योजनाबद्ध ढङ्गले अगाडि बढेको बताउनुभयो । “बाल सुधार गृह सुधारोन्मुख अवस्थामा रहेको छ । यसलाई अझ प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।