काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । महामन्त्री डा. मुकुल ढकालका अनुसार आज सोमबार पार्टी मुख्यालय बालाजुमा बसेको पार्टी केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले उम्मेदवार उठाउने तर प्रदेश सभामा बझाङ १ को उपनिर्वाचनमा भने पार्टीले भाग नलिने निर्णय गरेको हो ।

बैठकले सो उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने र हरेक हप्ता पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले र महामन्त्री ढकालले पार्टीको मन्त्रीहरूसँग छलफल गरेर सरकारको कामको समीक्षा गर्ने निर्णय पनि गरेको छ । बैठकमा पार्टीलाई सरकार, संसद् र सङ्गठनमा बलियो बनाउन सहयोगी टिमहरू गठन गरेर अघि बढ्ने निर्णय पनि गरिएको महामन्त्री ढकालले बताउनुभयो ।

रास्वपाले पालिका र वडा तहमा पनि उम्मेदवार उठाउने निर्णय गरेसँगै आगामी बैशाख १५ को उपनिर्वाचन नै स्थानीय तहमा उसको पहिलो सहभागिता हुनेछ ।