फाइल तस्वीरः राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक । राप्रपाका नेता श्रेष्ठमाथि केन्द्रीय कार्यालयमा हातपात
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालयमा नेताहरुबीच विवाद भएपछि बैठकबाट बाहिरिंदै गर्दा एक नेतामाट हातपात भएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बिहानदेखि बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक लम्बिनेभएपछि खाना खानका लागि ब्रेक गरेर नेताहरु बैठकबाट बाहिरिदै गर्दा हातपात भएको हुन पुगेको हो ।

बैठकस्थलबाट बाहिरिंदै गर्दा राप्राका नेता ठाकुरमोहन श्रेष्ठमाथि केही व्यक्तिहरुलो आक्रमण गरेका थिए । नेता श्रेष्ठमाथि किन र कसले आक्रमण गर्यो भन्ने विषयमा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु छलफलमा जुट्नुभएको थियो ।

राप्रपाका कार्यसम्पादन समिति सदस्य श्रेष्ठमाथि बैठक हलबाट बाहिर निस्कँदै गर्दा आज बिहान आक्रमण भएको नेता दीपकबहादुर सिंहले पुष्टि गर्नुभएको हो ।

सिंहका अनुसार आक्रमण गर्नेहरू पार्टीका कार्यकर्ता नभै बाहिरका मानिसले आक्रमण गरेका हुन् । सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक समेत रहनुभएका राप्रपाका नेता श्रेष्ठलाई आक्रमण गर्नुहरु फरार रहेका छन् । प्रहरीले आक्रमणकारीलाई खोजी गरिरहेको राप्रपाले जनाएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार नेता विक्रम पाण्डे र श्रेष्ठबीच केही विवाद उत्पन्न भएको थियो । श्रेष्ठले पाण्डेप्रति इङ्कित गर्दै भ्रष्टाचारमा संलग्न पाण्डेलाई पार्टीले बचाउनु परेको भन्दै टिप्पणी गरेपछि उहाँहरुबीच भनाभन भएको बताइएको छ । दुई नेताबीचको भनाभन पछि बैठक छोडेर नेता पाण्डे बैठक छाडेर बाहिरिनुभएको थियो । त्यसको केहीपछि बैठक स्थलबाट खाना खान बाहिरिन लाग्नुभएका नेता श्रेष्ठमाथि केही व्यक्तिले हातपात गरेको जनाइएको छ ।