महोत्तरी — बर्दिबासमा आदिवासी जनजातिको चौथो महोत्सव जारी छ । गत बिहीबार सुरु भएको १२ दिने यस महोत्सवमा यहाँका जनजातिले आफ्नो जातीय पहिचान र संस्कृतिको जगेर्ना नै मुख्यरूपमा उठाएका छन् । आउने चैत ५ गतेसम्म रहने नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्ले आयोजना गरेको महोत्सवमा महोत्तरीका स्थानीयवासीको सहभागिता छ । जसमा मधेसका रैथाने दनुवार, थारू, धानुक तथा पर्वते मूलका भए पनि यहाँ पुस्तौँदेखि बसोबास गर्दै आएका मगर, तामाङ, घर्ती, नेवार, राई, किरात र माझी सम्मिलित छन् ।

पाका उमेरका दनुवारको अहिले पनि कम्मरमा ‘डेली’ (माछा समातेर राखिने बाँसको चोयाले बनेको ढुङ्ग्रो) भिरेर छिपछिपे पानी देख्नासाथ ‘खौकी’ (माछा मार्ने सानो जाल) डुबाउनु दैनिकी छ । मधेसका आदिवासी दनुवारको विवाहमा अहिले पनि दुलहा (बेहुला) ले काँधमा तरबार भिरेर विधि सम्पन्न गर्ने चलन छ । दनुवार महाभारतकालका कौरव, पाण्डवका सश्त्र शिक्षाका गुरु द्रोणाचार्यसँग पुख्र्यौली साइनो जोड्छन् । द्रोणसँगको साइनोले ‘द्रोणवार’ भनिँदै पछि ‘दनुवार’ भन्न लागेको बताउने यिनीहरू आफ्नो जातीय संस्कृति झल्काउने पहिरन र सामग्रीसाथ महोत्सवमा सहभागी भएका हुन् ।

कृषि मुख्य पेसाका दनुवार, थारूले परम्परागत हलोजुवा, कोदालोसहितका कृषि ज्यावलको प्रदर्शनी  र फरकफरक चाडपर्वको झलक दिने परिकार महोत्सवमा पस्किएका छन् । जाडोयाममा खाइने चामलको पीठो बफ्याएर पकाइने बगिया, तिला सक्रायत र छठपर्वका ठकुवा भुसुवा र दीपावली पर्वका विशिष्ट परिकार घुरियालो (सेलजस्तै) सहितका मिष्टान्न परिकार छन् । वेशभूषा, बोलिचाली, चाडवाड र परम्परागत व्यवसाय उस्तैउस्तै रहेका थारू, दनुवार जनजातिमात्र नभएर यहाँका मूल रैथाने आदिवासी मानिन्छन् ।

महोत्सवको मुख्यपक्ष नै जातीय परम्परा, संस्कृति परम्परा र रीतिथीति देखाउनु, बुझाउनु र सम्झाउनु रहेको दनुवार जागरण समाज महोत्तरीका सदस्य गौशाला–९ बिसरपुरका बासिन्दा पवीसिंह दनुवार बताउनुहुन्छ । महोत्सवमा थारूले ‘घोङी’ (शङ्खेकीराजस्तै सानो आकारको जीव) का परिकार, सिद्रा र कोदोका रोटीको स्वाद अवलोकनकर्तालाई चखाएका छन्  ।  यसैगरी हातमा माछा मार्ने खौकी (जालजस्तै) र कम्मरमा ‘डेली’ (खौकीमा परेका माछा राख्ने बाँसको चोयाले बनेको एकप्रकारको भाँडो) भिरेर थारू र दनुवार युवाले महोत्सवमा सांस्कृतिक कार्यक्रम पस्कँदैछन् । यसैगरी जातीय पहिरनमा सजिएका तामाङ, मगर, राई, किरात, घर्ती, नेवार र माझी युवायुवती सबैको आँखामा पर्ने गरेका महोत्सव अवलोकनकर्ताको प्रतिक्रिया हुने गरेको छ । महोत्सवमा नेवारले १३ परिकार रहने नेवारी खाजा पस्कँदैछन् ।

महोत्सवले  पर्यटन र कृषि प्रवर्द्धनमा जोड दिएको छ । “हाम्रो समृद्धिको आधार नै पर्यटन प्रवर्द्धन र आधुनिक कृषि प्रणालीको विकास हो”, आयोजक संस्था महासङ्घमा आबद्ध दनुवार जागरण समाज महोत्तरीका सुखासिंह दनुवार भन्नुहुन्छ, “यो महोत्सवलाई यसै कुरामा केन्द्रित गर्दैछौँ ।”

महोत्सवमा विभिन्न जातीय परम्परा र संस्कृति झल्काउने कार्यक्रमसँगै स्थानीय कृषि उत्पादन र लघुउद्यममा निर्मित सामग्री  प्रदर्शनीमा राखिएका छन् । महोत्सवले स्थानीय उद्यम र कृषिबारे चासो बढाउने र राज्यका निकायलाई यिनको प्रवर्द्धनमा झकझक्याउने अपेक्षा राखिएको महासङ्घले जनाएको छ । महोत्सवमा स्थानीय कृषि उत्पादन, स्थानीय सीपबाट उत्पादित सामग्री र परम्परागत घरपरिवार प्रयोजनका सामग्रीको प्रदर्शनी र बेचबिखनका कक्षबारे दर्शकले चासोपूर्वक अवलोकन गरेका छन् ।  यी सामग्रीका एक सयभन्दा बढी प्रदर्शनी र बिक्रीकक्ष सञ्चालन गरिएको छ । महोत्सवको १२ दिने अवधिमा पाँच लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

मुलुकमा विभिन्न समयका राजनीतिक अधिकारका आन्दोलनले सफलता पाउँदै गए पनि पहिचानको आन्दोलन भने अझै निर्णायक बन्न नसकेको आदिवासी जनजातिको बुझाइ छ । महोत्सवमार्फत पहिचानसँग जोडिएका मुद्दाबारे थप बहसको वातावरण तयार गर्दै पछिल्लो पुस्तालाई आ–आफ्ना संस्कृति, परम्परा पछ्याउन प्रेरित गर्नु मुख्य ध्येय भएको आयोजक संस्था महासङ्घ जिल्ला समन्वय परिषद् महोत्तरीका अध्यक्ष धननारायण श्रेष्ठको भनाइ छ ।