फाइल तस्वीरः एमाले अध्यक्ष केपी शर्मा ओली ।


काठमाडौँ — गठबन्धन सरकारको मुख्य दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको वर्तमान सरकारलाई सफल बनाउनुपर्नेमा जोड दिनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको पार्टी सचिवायलको बैठकमा बोल्दै अध्यक्ष ओलीले आफ्नो पहलमा बनेको वर्तमान सरकारलाई सफल बनाउन नेताहरुलाई निर्देशन दिनुभएको हो ।

अध्यक्ष ओलीले गत फागुन २१ गते बनेको नयाँ गठबन्धनबाट निर्मित सत्ता समीकरणका बारेमा बैठकमा विस्तृत जानकारी गराउँदै अध्यक्ष ओलीले एमालेकै पहलमा नयाँ समीकरण बनेकाले यसलाई जोगाउनपर्नेमा जोड दिनुभएको थियो । बैठकमा पूर्वप्रधानमन्त्री ओलीले अर्को समीकरणको खोजीमा एमाले नहिँड्ने र हिँड्न पनि नहुने बताउनुभयो ।

एमालेकै पहलकदमीमा यो गठबन्धन बनेकोले यसको विकल्पमा अन्य केही सोच्न नहुने भन्नुहँुदै एमाले अध्यक्ष ओलीले ‘हाम्रो पहलकदमीमा यो समीकरण बनेको छ । यसलाई हामीले नै सफल बनाउनुपर्छ’— भन्नुभयो ।

इमानदारीतापूर्वक अहिलेको समीकरणमा सहभागी भएर काम गर्न पनि नेताहरूलाई निर्देशन दिंदै भन्नुभयो —‘हाम्रै पहलमा बनेको समीकरणबाट केही नयाँ अनुभूति हुनेगरी काम गर्नुपर्नेछ । यसअघि सरकारमा हुनेले बिगारेका कामलाई पनि सुधारेर अघि बढ्नुपर्ने चुनौती हामीमाझ छ ।’