फाइल तस्वीर


ललितपुर — सत्ता गठबन्धनको ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले देशमा उत्पन्न निराशालाई चिर्ने र देशभित्रै केही हुन सक्छ भन्ने सकारात्मक भावनाको विकास गर्ने प्रयासतर्फ नयाँ सरकार अगाडि बढ्ने बैठकको निश्कर्ष निकालेको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आज शुक्रबार बसेको एमाले पार्टी सचिवालयको बैठकले यस्तो निष्कर्ष निकाले हो ।

नेपाली काङ्ग्रेससँगको गठबन्धन टुटाएर एमालेसँग बनेको नयाँ गठबन्धनको सरकारका बारेमा सचिवालय बैठकमा भएको छलफल पछि एमाले महासचिव शङ्कर पोखरेलले नयाँ समीकरणलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको बताउनुभयो ।

मुलुकमा सिर्जना भएको सङ्कटलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पु¥याउने हिसाबले सकारात्मक योगदान गर्नुपर्दछ भन्ने निष्कर्षमा बैठक पुगेको महासचिव पोखरेलले बताउनुभयो ।

महासचिव पोखरेलले जनताको निराशालाई आशमा बदलेर विकास र समृद्धिका कामलाई तीव्रता दिन नयाँ सहकार्य फलदायी बनाउनु पर्ने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारलाई समर्थन गर्न अन्य राजनीतिक दलहरूलाई समेत अनुरोध गर्नुभएको छ ।

आज बसेको एमाले सचिवालयको बैठकले आगामी २०८१ साल वैशाखमा महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय समेत गरेको छ । सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको हो । बैठक पछि महासचिव पोखरेलले आगामी वैशाख १० गते पार्टीको ७५ औँ स्थापना दिवसको विशेष समारोह आयोजना गर्ने निर्णय गर्दै वैशाख ८ र ९ गतेका लागि महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको जानकारी गराउनुभयो ।