उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय राजदूत नवीन श्रीवास्तव ।


काठमाडौँ – भारतीय राजदूत नवीन श्रीवास्तवले नवनियुक्त मन्त्रीहरुलाई भेटेर बधाई दिनुभएको छ । राजदूत श्रीवास्तवले आज बिहीबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री र अर्थमन्त्री वर्षमान पुनलाई उहाँहरुकै कार्यकक्षमा भेट्न पुगेर बधाई दिनुभएको हो ।

नेपाली काङ्ग्रेससँगको गठबन्धन तोडेर एमालेसँगको नयाँ समीकरण बनेपछि भारत असन्तुष्ट भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालय बैठकमा खुलासा गर्नुभएको थियो ।

यद्यपि, नयाँ समीकरणबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन भई हिजो बुधबार पूर्णता पाएसँगै भारतीय राजदूत श्रीवास्तव उपप्रधानमन्त्री श्रेष्ठ र अर्थमन्त्री पुनसँग शिष्टाचार भेटका लागि सिंहदरबार पुगेर बधाई र सफल कार्यको शुभकामना दिनुभएको छ ।

भारतीय राजदूत श्रीवास्तवले उपप्रधान एवम् परराष्ट्रमन्त्री श्रेष्ठसँगको भेटमा द्वि–पक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राई जानकारी दिनुभएको छ ।

उहाँहरुबीच दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने, भारतको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको प्रवक्ता राईले जानकारी गराउनुभयो ।

आजै राजदूत श्रीवास्तवले अर्थमन्त्री वर्षमान पुनसँग पनि शिष्टाचार भेट गर्नुहुँदै बधाई र सफल कार्यकालको शुभकामना दिनुभएको छ । भेटका क्रममा उहाँहरुबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै अघि बढ्ने गरी छलफल भएको थियो ।

सत्ता समीकरण परिवर्तन हुनु नेपालको आन्तरिक मामिला भएको टिप्पणी गर्दै भारतीय श्रीवास्तवले भन्नुभयो ‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो । यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु ।’