काठमाडौं — राष्ट्रियसभा सदस्यहरुले सभाका नवनिर्वाचित सदस्यलाई सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर सभाको गरिमा राख्न सुझाव दिनुभएको छ । आज बसेको सभाको बैठकमा नवनिर्वाचित सदस्यहरुलाई शुभकामना दिँदै सांसद देवेन्द्र दाहालले प्रतिपक्ष र सत्तापक्ष नभनी सभाको गरिमा उच्च राख्नुपर्ने विषयप्रति सचेत रहन आग्रह दिनुभयो । राष्ट्रियसभा प्रतिनिधिसभाको छाया बन्न नहुने उहाँको धारणा थियो ।

“गठबन्धनहरु फेरिरहन्छन् । तर यो स्थिर र स्थायी सभा हो । यो सभाले खेल्ने भूमिका बेग्लै हुन्छ । कहिलेकाही हामी पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो । 

सांसद गोपीबहादुर सार्की अछामीले नवनिर्वाचित सदस्यलाई सफल कार्यकालका लागि  शुभकामना व्यक्त गर्दै सभाले स्थापित गरेका मान्यताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रियसभा समयमै चल्छ भन्ने मान्यता स्थापित भएको बताउनुभयो । सांसद अछामीले सभाका सबै सदस्यले साझा सहमतिको संस्कार विकास गरेको धारणा राख्नुभयो । 

  सांसद कमलादेवी पन्तले पनि राष्ट्रियसभाको गरिमा कायम राख्न सांसदहरुलाई सुझाव दिनुभयो । उहाँले संविधानको पूर्ण कार्यान्वयनको सन्र्दभमा आवश्यक कानुन निर्माण नभएकोप्रति पनि ध्यानार्कषण गराउनुभयो । विधायिकालाई विश्राम गर्ने छुट नभएको उहाँको भनाइ थियो । “स्थायी व्यवस्थापकीय अङ्गका रुपमा स्थापित सभाले निर्वाह गर्ने भूमिका कायम राख्ने गरिमा र ओजलाई गहिरो नजरमा हेरिएको छ”, उहाँले भन्नुभयो, “त्यसैले पनि हामी जनताको विशेष निगरानीभित्र छौँ ।”

सांसद बेदुराम भुसालले पुनर्गठित मन्त्रिपरिषद्लाई मुलुकको प्रगतिको दिशामा अघि बढाउनु शुभकामना दिनुभयो । उहाँले मुलुकको अर्थतन्त्रमा देखिएको समस्याबारे सरकारको ध्यानार्कषण गराउनुभयो । “सत्ता समीकरण बदलिएको छ । पटक–पटक समीकरण परिवर्तन हुँदा मुलुकले अस्थिरता भोग्नु परेको गुनासो छ”, उहाँले भन्नुभयो, “पुनर्गठित मन्त्रिपरिषद्लाई मुलुकमा देखिएका चुनौतिको सामना गर्दै अघि बढ्नका लागि म शुभकामना दिन चाहन्छु ।”

सांसद मोहमद खालिदले राष्ट्रियसभा सदस्यको भूमिका स्मरण गराउँदै जनसरोकारका विषयमा एकजुट र साझा मत कायम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “हामी संविधानका रक्षक पनि हौँ र मुलुक र जनताको हितका लागि कानुन निर्माणसँगै सरकारको निगरानीका लागि यहाँ छौँ”, उहाँले भन्नुभयो, “पिछडिएका समुदाय र वर्गका लागि यस सदनमार्फत आवाज उठाउने प्रतिबद्धताका लागि आग्रह गर्दछु ।”
सांसद तुलप्रसाद विश्वकर्माले परिवर्तित सत्तासमीकरणप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । सांसद शेखरकुमार सिंहले जनताको विश्वासलाई कायम राख्न सुझाव दिनुभयो । 

बैठकमा नवनिर्वाचित सदस्य आनन्दप्रसाद ढुङ्गानाले सभामा आफ्नो पहिलो अनुभव सुनाउदै जनताको अपेक्षाअनुसार काम गर्ने विश्वास व्यक्त गर्नुभयो । नवचिर्वाचित सदस्यहरु किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, घनश्याम रिजाल, झक्कुप्रसाद सुवेदी, पदमबहादुर परियार र पुजा चौधरीलगायतले सभाको गरिमा कायम राख्ने प्रतिबद्धता जनाउनुभयो ।