काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले नयाँ बनेको सत्ता समीकरणमा सहभागी हुन प्रधानमन्त्रीसँग छलफल गरेर मात्र निर्णय गर्ने भएको छ । त्यसअघि पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले विभिन्न पाँच सर्त अघि सार्दै त्यस विषयमा सहमति भएको खण्डमा मात्रै सरकारमा सहभागी हुने बताएको हो ।

नेकपा एकीकृत समाजवादीले आफूहरु सरकारमा सहभागी हुन पाँचवटा सर्तमा सहमति हुनुपर्ने अडान लिएको छ । पार्टी प्रवक्ता जगनाथ खतिवडाका अनुसार प्रचण्ड र ओलीले गरेको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै समाजवादीले विभिन्न पाँच विषयमा छलफल गरेर मात्रै निर्णय लिने बताएको हो । जसका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटार जानुभएको छ ।

एकीकृत समाजवादीले सरकारमा सहभागी हुन आर्थिक वृद्धि, राष्ट्रहित, भ्रष्टाचार नियन्त्रण, महँगी नियन्त्रण र सन्तुलित परराष्ट्र सम्बन्धका बारेमा छलफल गरेर मात्रै सरकारमा जाने नजाने निर्णय गर्ने बताएको हो । त्यसका लागि अध्यक्ष नेपाल, उपाध्यक्ष हमाल र महासचिव भुसाल प्रधानमन्त्री निवास बालुवाटार छलफलमा हुनुहुन्छ ।