फाइल तस्वीर
काठमाडौँ — सत्ता समीकरण फेरिएसँगै नेपाली काङ्ग्रेस वर्तमान गठबन्धनलाई बहुमत पुग्न नदिने प्रयास गरिरहेको छ । यसका लागि काङ्ग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशवादी दलहरुलाई फकाउन लागिपर्नु भएको छ ।

यसैबीच सभापति देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई आज बुधबार भेटघाट गर्दै हुनुहुन्छ । काङ्ग्रेस सभापति देउवा र लोसपाका अध्यक्षबीच अपरान्ह ४ बजे बुढानीलकण्ठस्थित देउवा निवासमा वार्तालाप गर्ने तय भएको छ ।

सभापति देउवाले आजै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोटेश्वर पुगेर नेपाल निवासमा भेटघाट गर्नुभएको थियो । सभापति देउवाले मधेशवादी दलका नेताहरुलाई पनि भेट्ने प्रयास गर्दै हुनुहुन्छ । सकेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका सरकारलाई विश्वासको मत पुर्याउन नदिने खेलमा देउवा लाग्नुभएको छ । सभापति देउवा आफ्नो पक्षमा अर्को गठबन्धन बनाएर अघि बढ्न खोजिरहनु भएको छ ।