राँझा — बाँकेको राप्ती सोनारी गाउँपालिकामा विपद् व्यवस्थापनसम्बन्धी सिकाइका लागि भियतनाम सरकारको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको टोली आइपुगेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिकाले गर्दै आएको विपद् व्यवस्थापन कार्यको अवलोकन र सिकाइ आदान–प्रदानका लागि भियतनामको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवन्धक निर्देशिक एनजीजेन भान तिइनको नेतृत्वमा आएको नौ सदस्यीय टोली राप्ती सोनारीमा आइपुगेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले राससलाई जानकारी दिनुभयो ।
“विपद् व्यवस्थापनको क्षेत्रमा हामीले यहाँ गर्दै आएका काम, योजना र अनुभव जानकारी गराएका छाँै, उनीहरुले पनि आफूहरुले गर्दै आएको कामबारे जानकारी गराएका छन्”, प्रमुख प्रशासकीय अधिकृत देवकोटाले भन्नुभयो, “दुवै देशको अनुभव आदान–प्रदान गर्ने काम भएको छ ।”

भियतनाम सरकारको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको टोलीले गाउँपालिकामा रहेको स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र, बाढी मापन केन्द्र कुसुम, साइरन प्रणाली, कुसुममा निर्माण गरिएको बाढी प्रतिरोधात्मक घरको प्रत्यक्ष अवलोकन गरी विपद् व्यवस्थापनको क्षेत्रमा भइरहेको कामका बारेमा जानकारी आदान–प्रदान गरेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो । 

बाँकेको राप्ती सोनारी गाउँपालिका राप्ती नदीमा आउने बाढीजन्य विपद्बाट बढी प्रभावित रहेको छ । बाढीजन्य विपद्बाट हुने क्षति कम गर्न दुवै देशका प्रतिनिधिबीच छलफल गरिएको उहाँको भनाइ छ । बाँकेको राप्ती सोनारी गाउँपालिका हुँदै बग्ने राप्ती नदीको बाढीबाट बच्न वडा नं १ कुसुममा बाढी मापन केन्द्र सञ्चालनमा रहेको छ । नदीमा ठूलो बाढी आउनासाथ राप्ती नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई जोगाउन साइरन बजाउने गरिएको छ ।