फाइल तस्वीर


काठमाडौँ — जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेश सरकारको नेतृत्वको सुनिश्चित नभएसम्म तत्काल सरकारमा नजाने भएको छ । आज बुधबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

मधेस प्रदेश सरकारको नेतृत्वको सुनिश्चित नभएसम्म जसपा सङ्घीय सरकारमा सहभागी नहुने भएको छ । कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले बताए अनुसार मधेस प्रदेशको सरकार जसपाको बटमलाई बनाएको छ । ‘हामीले मधेस प्रदेशको सरकारलाई नेतृत्व गरिरहेका छौँ, त्यसको निरन्तरताको सुनिश्चित हुनुपर्छ’— नेता यादवले भन्नुभयो ।

आफुलाई राष्ट्रिय पार्टीको रुपमा जसपाले देखाएपछि उसको राजनीति विशेषगरी मधेश केन्द्रीत छ । क्षेत्रीय दलको रुपमा मधेश केन्द्रीत दलहरु धेरै बनेका छन् । पछिल्लो समय जनमत पार्टीले मधेशमा जसपालाई धक्का दिएको छ । सो धक्काबाट अरु क्षति नहोस् र आफ्नो आधार क्षेत्र सुनिश्चित बनाउन पनि जसपाले मधेश प्रदेशको मुख्यमन्त्रीमा आफ्नो सुनिश्चितता चाहेको छ । त्यहाँ जसपा नेतृत्वको सरकार अल्पमतमा छ । उसले कुनै पनि हालतमा निरन्तरता दिन चाहन्छ ।

अहिलेको चार दलीय गठबन्धनले मधेस प्रदेशको सरकारलाई टिकाउन गाह्रो हुन्छ । जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिन गठबन्धनबाहेक नै कम्तिमा तीन सांसदको आवश्यक पर्ने देखिन्छ । यसका लागि नेकपा एकीकृत समाजवादी या लोकतान्त्रिक समाजवादी पार्टी या जनमत पार्टी मध्ये कुनै एक दलले साथ दिनुपर्ने हुन्छ । जसपाले यो सुनिश्चितताका लागि पनि गठबन्धनमा अडान राखेको छ ।

जसपाप्रति जनमत पार्टी र लोसपा सकारात्मक छैनन् । यी दुवै दलले मधेश सरकारमा दावी गर्दै आएका छन् । अन्यथा वर्तमान गठबन्धनलाई साथ नदिने कुराको जानकारी प्रधानमन्त्रीलाई गराइसकेको अवस्था छ । यो कारणले पनि जसपाले मधेश सरकारमा आफ्नो नेतृत्वलाई निरन्तरताको सुनिश्चितता चाहेको छ । मधेशमा जनमत पार्टीका डा. सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई टक्कर दिंदै आउनुभएकाले उपेन्द्र यादव मधेशको राजनीतिबाट आफ्नो पकड गुम्ने हो कि भन्ने चिन्तामा देखिनुभएको छ ।