फाइल तस्वीर
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सि.डि.ई.) सचिन्द्र कुमार देवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ४ मधुवापुर अन्तर्गत शहरी विकास, राजविराजद्वारा मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग तीन मिटर दुरीमा कालोपत्र बाटो निर्माण गर्ने क्रममा भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध आयोगले आज भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सि.डि.ई. सचिन्द्र कुमार देवसहित, तत्कालीन इन्जिनियर मदन राय, सबइन्जिनियर सरोज कुमार यादव र निर्माण व्यवसायी गुन्जा कन्सट्रक्सनका प्रोप्राइटर गोविन्द प्रसाद मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियारका प्रवक्ता घिमिरेका अनुसार सि.डि.ई. देव, तत्कालीन इन्जिनियर राय र सबइत्तिजनियर यादवले अनियमित तरिकारले निर्माण व्यवसायी मण्डललाई तीन लाख ४७ हजार रुपैयाँ भुक्तानी दिएका थिए ।

उनीहरुविरुद्ध तीन लाख ४७ हजार रुपैयाँ विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले बताउनुभयो ।