फाइल तस्वीर
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ । काठमाडौँको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भोलि बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

सो पार्टीका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले बताएअनुसार देशको बदलिंदो राजनीतिक घटनाक्रमका बारेमाा छलफल गर्न भोलि बस्ने भएको हो । भोलिको बैठकमा देशको विकसित राजनीतिक घटनाक्रम र पार्टीको आगामी महाधिवेशनबारे छलफल हुने कार्यालय सचिव श्रेष्ठले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रको पहलमा हिजो बनेको एमालेसहितको नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीलाई सरकारमा आउन पार्टी अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर पुगेर आग्रह गर्नुभएको थियो । त्यसपछि अध्यक्ष नेपालले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाउनुभएको हो ।

अध्यक्ष नेपालले नयाँ समीकरणपछि बनेको नयाँ सरकारको उद्देश्य, योजना, नीति कार्यक्रम हेरेर मात्रै आफ्नो पार्टीले निर्णय गर्ने जवाफ प्रधानमन्त्री प्रचण्डलाई दिनुभएको थियो । अध्यक्ष नेपालको भनाइलाई आधार मान्ने हो भने एकीकृत समाजवादी तत्काल सरकार नजाने देखिएको छ । सरकारको गतिविधिलाई पर्ख र हेरको नीति कायमै रहे पनि भोलि बस्ने सचिवालयको बैठकले ठोस निर्णय गर्न सक्ने बताइएको छ ।