फाइल तस्वीर
धुलिखेल — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पार्टीका बागमती प्रदेश इञ्चार्ज अग्निप्रसाद सापकोटाले देशको परिवर्तित राजनीतिक अवस्थाले विगतको बृहत्तर कम्युनिस्ट एकताको प्रयासलाई पूरा गर्ने आधार बनेको बताउनुभएको छ । सहिद सप्ताहको अन्तिम दिन देशको राजनीतिक अवस्थाले कोल्टे फेरेको र आज बनेको नयाँ गठबन्धनले केही वर्षअघिको बृहत्तर राजनीतिक एकताको प्रयासलाई सार्थक पार्ने आधार बनाउने विश्वास व्यक्त गर्दै बृहत्तर कम्युनिस्ट एकताको प्रयासलाई पूरा गर्ने आधार बनेको बताउनुभएको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाले “पहिला कम्युनिष्ट पार्टीको एकता भएपनि त्यसलाई रक्षा गर्न सकिएको थिएन । अहिले त्यसबेलाको अवस्थाको गम्भीर समीक्षासहित अगाडि बढ्न तथा एकतालाई अटुट राख्न सहयोग पुग्नेछ,” भन्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का जनवर्गीय सङ्गठन तथा मोर्चाले संयुक्त रूपमा आयोजनामा काभ्रेपलाञ्चोकको बनेपामा आज सोमबार भएको ‘सहिद परिवार सम्मान तथा व्यवस्था परिवर्तनमा बलिदानको महत्व’ विषयक कार्यक्रममा बोल्दै संविधानको प्रस्तावनामा उल्लेख भएको लोकतान्त्रिक गणत्रन्तात्मक समाजवाद उन्मुख राज्यव्यवस्थालाई आजको नयाँ गठबन्धनलाई ‘कोर्स करेक्सन’ भन्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीका अध्यक्ष एवं प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले आफन्तजनहरु गुमाएर अहिलेको व्यवस्था प्राप्त गरेको उल्लेख गर्दै सहिद परिवारलाई विचलित नहुन आग्रह गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र) का काभ्रे जिल्ला संयोजक भोला अर्यालले सहिदको सपना पूरा गर्नेभन्दा पनि आफ्नो सपना पूरा गर्नेतफए नेताहरू लागेका आरोप लगाउनुभयो । सहिद परिवारका सदस्य राजकुमार तामाङले अहिलेको परिवर्तन सहिदहरुको बलिदानीबाट भएको बताउँदै सहिद परिवारको भावनालाई सम्बोधन गर्न आग्रह गर्नुभयो । 

माओवादी केन्द्रले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको छ ।