फाइल तस्वीरः डा. बाबुराम भट्टराई ।
काठमाडौँ — पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुप्पकमल दाहाललाई गठबन्धन परिवर्तन गरेकोमा खिसिट्याउ गर्नुभएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री प्रचण्डलाई सत्ता लिप्साका लागि सत्ता समीकरण परिवर्तन गरेर फोहरी खेल खेलेको भन्दै खिसिट्याउ गर्नुभएको हो ।

नेता भट्टराईले सत्ता लिप्साका कारण सत्ता समीकरण परिवर्तन गर्दै जाँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने काम गरेको बताउनुभएको छ । माओवादीका पूर्व नेता भट्टराईले आफ्ना पूर्व सहकर्मीसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डलाई सत्ता समीकरण परिवर्तन गरेपछि लक्षित गर्दै ‘किस्सा कुर्सीका’ नामक केही दशक पहिलेको चर्चित हिन्दी फिल्मलाई पनि जित्ने’ भनि टिप्पणी गर्नुभएको छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले सामाजिक सञ्जातमार्फत् सत्ता गठबन्धन परिवर्तनले जनता र नयाँ युवा पुस्तामा वितृष्णा बढाउने र प्रतिगमनको आधार तयार पार्ने खतरा बढेको दावीसमेत गर्नुभएको छ ।

सामाजिक सञ्जालमा भट्टराईले लेख्नुभएको छ — ‘केही निरीह सांसदको पोको बोकेर एउटासँग गठबन्धन गर्दा ‘संविधान र लोकतन्त्रको रक्षानिम्ति’ भन्ने अनि केही महिनाभित्र अर्कोसँग घाँटी जोड्दा ‘ वामपन्थी÷कम्युनिष्ट एकतानिम्ति’भन्ने ! यस्तो नांगो अवसरवादलाई जनयुद्धको गौरवशाली विरासतसँग जोडेर उल्टै ‘ठुलो उथलपुथल’ भन्ने ! विचारा सोझा कार्यकर्ता कर्तव्य विमूढ बनेर मनलागी नलागी ताली ठोक्ने ! यो प्रसिद्ध उपन्यास ‘एनिमल फार्म’ को नयाँ संस्करण नभए के हो ?’

अलिकति पनि अग्रगामी चेत र राजनीतिक मूल्यमान्यता बाँकी रहेकाहरूले अब अति भो भन्नुपर्ने डा. भट्टराईको भनाई थियो ।