काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको सचिवालय बैठकले नयाँ गठबन्धनको गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय सचिवालय बैठकले सरकारको उद्देश्य, प्रक्रिया र संरचना प्रस्ट भएपछि पार्टी सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्ने निर्णय गरेको हो ।

पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार बैठकले नयाँ समीकरणको उद्देश्य, प्रक्रिया र संरचना अझै स्पष्ट भइसकेको छैन, प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण–दोषका आधारमा नेकपा (एकीकृत समाजवादी)ले आफ्ना नीतिहरु स्पष्ट पार्नेे निर्णय गरेको छ ।

पछिल्लो समय विकासित राजनीतिक घटनाक्रमले मुलुकमा अर्को राजनीतिक समीकरण निर्माण भएको विश्लेषण गर्दै बैठकले गठबन्धन फेरिएपछिको अवस्थामा पार्टीको धारणा प्रस्ट गरेको हो । बामपन्थी धु्रवीकरणको सम्भावना, समाजवादी मोर्चालगायत विषयमा विस्तृत छलफल गरिएको बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीले सरकारमा रहँदा गरेका कार्यको समीक्षा गरिएको थियो ।  

कार्यालय सचिव श्रेष्ठका अनुसार सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले एकीकृत समाजवादीलाई सरकारमा सहभागिताका लागि गरेको आग्रहलाई सकारात्मक रूपमा लिन केही नेताहरूले बैठकमा सुझाव दिनुभएको थियो ।