चितवन — बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्कट्टेलले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत आजदेखि यहाँ सुरु भएको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई अपहेलना ग¥यो भन्ने ठाउँ नरहने गरी काम गरेको बताउनुभएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो “खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले क्षमताले भ्याएसम्म काम गरेको छ । खेलकुद क्षेत्रमा बजेट बढाउँदै लगिएको छ ।” खेल क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकारले भरतपुरमा निर्माणका क्रममा रोकिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ७० प्रतिशत लगानी गर्ने गरी निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यस्तै पटिहानी र माडीमा कवर्डहल निर्माण गरेको भन्दै उहाँले अझै खेल क्षेत्रको विकासका लागि आवश्यक काम प्रदेशबाट हुने बताउनुभयो ।

खेलकुदले देशलाई चिनाउने काममात्र नगर्ने भन्दै उहाँले यसले सबैलाई एकीकृत गरेर अघि बढ्न उत्प्रेरित गरेको बताउनुभयो ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीरतापूर्बक लागेको बताउनुभयो । उहाँले भन्नुभयो “खेलाडीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्ने गरी बजेट बनाइएको छ । यसले खेल क्षेत्रमा समृद्धि ल्याउन मद्दत पुग्ने छ ।”
कार्यक्रममा प्रदेशसभा सदस्यहरु ठाकुर ढकाल, ईश्वर सापाकोटा, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले खेलकुद क्षेत्रको विकासले देशको पहिचान बनाउने बताउनुभयो ।
प्रतियोगितामा चितवन सहित १३ जिल्लाका एक हजार ४० जना विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताअन्तर्गत चितवनमा कराँते, तेक्वान्दो, कबड्डी, भलिबल र एथलेटिक्स हुँदैछ भने उसु काठमाडौँमा सुरु भएको छ ।